काठमाडौँ – रसुवागढी-केरुङ र तातोपानी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरला नाकामा चहलपहल बढेको छ। नाकाबाट हुने मालवस्तुको आयातमा वृद्धि भएसँगै भन्सार र क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप गर्ने तयारी गरिएको छ।
भन्सार विभागले मुस्ताङका लागि ६ जना कर्मचारी पठाउने तयारी गरेको छ। हाल मुस्ताङ भन्सारमा १८ जनाको दरबन्दी रहेकामा १२ जना मात्र कार्यरत छन्। त्यसैगरी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि थप ३ जना कर्मचारी पठाउने निर्णय गरेको छ।
रसुवागढी नाका बन्द भएपछि दैनिक ५० भन्दा बढी कन्टेनर कोरला नाका हुँदै भित्रिन थालेका छन्। विशेषगरी फलफूललगायतका सामग्रीको क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएकाले थप जनशक्ति परिचालन गर्न लागिएको हो।
