सुनसरी। वराहक्षेत्र नगरपालिका-५ कालाबन्जरमा सञ्चालित प्लाइउड उद्योगले स्थानीय ६५ जनालाई रोजगारी दिएको छ। २०८१ माघमा स्थापना भई २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस उद्योगमा महिला श्रमिकको सङ्ख्या बढी छ। स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिन भएपछि महिलालाई प्राथमिकता दिइएको व्यवस्थापनले जनाएको छ।
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा १ करोड ५० लाख रुपियाँको लागतमा ७२ कट्ठा जग्गामा उद्योग सञ्चालित छ। उद्योगका लेखा तथा व्यवस्थापन प्रमुख दीपक रानामगरका अनुसार स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी बनेको छ। यहाँ काम गर्ने बबिता बस्नेतले घरको काम भ्याएर उद्योगमा खटिँदा परिवारको खर्च जुटाउन सहज भएको बताएकी छन्। अर्का श्रमिक रोशन चौधरीले गाउँमै रोजगारी पाएपछि बाहिर जानुपर्ने बाध्यता हटेको उल्लेख गरेका छन्।
उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायरफिट भेनियर उत्पादन गर्छ। यसका लागि उत्तिस, कटुस र चिलाउने जातका काठ तेह्रथुम, खोटाङ र भोजपुरबाट ल्याइन्छ। सुरुमा प्राविधिक अभावमा भारतबाट जनशक्ति ल्याउनुपरे पनि अहिले नेपाली श्रमिकले नै मेसिन सञ्चालन गर्न सिकिसकेका छन्। श्रमिकलाई कामको आधारमा प्रतिघण्टा पारिश्रमिक दिने गरिएको छ।
उत्पादित भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरका उद्योगमा बिक्री हुने गरेको छ। साथै, भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि सामान निर्यात गरिन्छ। वार्षिक ५ करोड रुपियाँ बराबरको कारोबार गर्ने यस उद्योगले उत्पादन प्रक्रियामा निस्कने दाउरा र काठका टुक्रा बिक्री गरेर थप आम्दानीसमेत गर्ने गरेको छ।
