udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीले पर्यटन सिजनमै धक्का

भोटेकोशी विपत्तिले मुख्य पर्यटन सिजनअगावै बुकिङ, ट्रेकिङ र अन्तर्राष्ट्रिय बजारमा नेपालको जोखिम छवि बढाएको छ ।

बाढीले पर्यटन सिजनमै धक्का
A A+ A-

काठमाडौं । भोटेकोशी बाढीले मानवीय क्षतिसँगै नेपालको पर्यटन व्यवसायलाई पनि त्यस्तो धक्का दिएको छ, जसको वास्तविक आर्थिक असर आगामी तीन महिनाको मुख्य सिजनमा देखिनेछ।

२६ अगस्टको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सडक, पुल, होटल, रेस्टुरेन्ट, सवारीसाधन र पर्यटन पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

पर्यटन क्षेत्रका व्यवसायीले मुख्य सिजनमा पर्यटक आगमनमा करिब पाँच प्रतिशतसम्म कमी आउन सक्ने प्रारम्भिक आकलन गरेका छन्। तर जोखिम केवल प्रभावित क्षेत्रको पर्यटन गतिविधिमा सीमित छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको विपत्तिको समाचार, विभिन्न मुलुकले जारी गरेका ट्राभल एडभाइजरी र पर्यटकमा परेको मनोवैज्ञानिक प्रभावले नेपालका अन्य गन्तव्यसमेत प्रभावित हुने चिन्ता बढेको छ।

नेपालका लागि समस्या रसुवाको एउटा पर्यटकीय क्षेत्र प्रभावित हुनु मात्र होइन। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको मुख्य पर्यटन सिजन सुरु हुनै लाग्दा ठूलो प्राकृतिक विपत्ति आएको छ। यही समयमा अन्तर्राष्ट्रिय बजारबाट नेपालका लागि सबैभन्दा ठूलो पर्यटकीय माग आउने गर्छ।

त्यसैले अहिलेको क्षतिको वास्तविक मूल्यांकन होटल र सडकमा भएको भौतिक क्षतिबाट मात्र गर्न सकिँदैन। आगामी तीन महिनामा कति पर्यटक आउँछन्, कति बुकिङ रद्द हुन्छन्, कति टुर प्याकेज स्थगित हुन्छन् र अन्तर्राष्ट्रिय बजारमा नेपालको जोखिमसम्बन्धी धारणा कति बदलिन्छ भन्ने कुराले वास्तविक क्षति निर्धारण गर्नेछ।

५० अर्बको क्षति सिजनअघि नै ठूलो धक्का

भोटेकोशी बाढीले सबैभन्दा पहिले प्रत्यक्ष पर्यटन पूर्वाधारमा प्रहार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोबाट पर्यटन क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ।

प्रारम्भिक विवरणमा १४२ होटल, ५७ रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ सवारीसाधनमा क्षति पुगेको उल्लेख छ। पर्यटन क्षेत्रमा मात्रै प्रारम्भिक क्षति ५० अर्ब रुपैयाँभन्दा बढी रहेको मन्त्रालयको आकलन छ।

यो रकमलाई तत्काल नगदमा भएको क्षति भनेर बुझ्नु हुँदैन। पर्यटन क्षेत्रको क्षति गणना गर्दा होटल र रेस्टुरेन्टका भवन, सवारीसाधन, पदमार्ग, सडक र पुलसँगै पर्यटक नआउँदा गुम्ने आम्दानी, रोजगारी र स्थानीय आपूर्ति शृंखलामा पर्ने प्रभाव पनि महत्वपूर्ण हुन्छ।

रसुवा नेपालको साहसिक तथा धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र हो। लाङटाङ, गोसाइँकुण्ड, तामाङ हेरिटेज ट्रेल, पार्वतीकुण्ड तथा कैलाश मानसरोवर यात्रासँग यो क्षेत्र प्रत्यक्ष जोडिएको छ।

त्यसैले एउटा सडक वा पुल बग्नु भनेको एउटा ठाउँको यातायात अवरुद्ध हुनु मात्र होइन। त्यसले होटल, गाइड, पोर्टर, ट्राभल एजेन्सी, यातायात व्यवसायी, रेस्टुरेन्ट र स्थानीय आपूर्तिकर्तासम्मको कारोबार प्रभावित गर्छ।

लाङटाङ यसको प्रत्यक्ष उदाहरण हो। बाढीले धुन्चे, स्याफ्रुबेसी हुँदै लाङटाङ जाने सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि पर्यटक आवतजावत कठिन बनेको छ। लाङटाङ उपत्यकालाई पुनः पर्यटन गतिविधिमा फर्काउन सडक तथा पदमार्गको पुनःस्थापना आवश्यक भएको व्यवसायीहरूको भनाइ छ।

नेपालको मुख्य पर्यटन सिजन पनि यही समयमा सुरु हुन्छ। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, सांस्कृतिक भ्रमण र धार्मिक पर्यटनका लागि विदेशी पर्यटकको माग उच्च हुने गर्छ।

त्यसैले भौतिक पूर्वाधारको क्षति सिजन सुरु हुनुअघि नै पूर्ण रूपमा समाधान गर्न नसकिएमा त्यसको असर होटलको कोठा बिक्रीदेखि स्थानीय रोजगारीसम्म पुग्नेछ।

पाँच प्रतिशत गिरावटको अर्थ कति ठूलो?

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले भोटेकोशी बाढीका कारण आगामी सिजनमा पर्यटक आगमनमा करिब पाँच प्रतिशतसम्म असर पर्न सक्ने प्रारम्भिक अनुमान गरेका छन्।

सिजन पूर्ण रूपमा सुरु नभइसकेकाले अहिले नै बुकिङ रद्दको यकिन तथ्यांक निकाल्न नसकिने भए पनि पर्यटकमा मनोवैज्ञानिक असर देखिन थालेको व्यवसायीहरूको भनाइ छ।

पाँच प्रतिशत सामान्य सुनिन सक्छ। तर नेपालको पर्यटन बजारको आकारसँग तुलना गर्दा यो सानो संख्या होइन।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका थिए। सन् २०२४ को सोही महिनामा ९६ हजार ३०२ पर्यटक आएका थिए। अर्थात् एक वर्षमै सेप्टेम्बरको पर्यटक आगमनमा करिब १७ हजार ६०० को कमी आएको थियो।

सन् २०२५ को अक्टोबरमा १ लाख २८ हजार ४४३ र नोभेम्बरमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल आएका थिए। दुई महिनामा मात्रै २ लाख ४४ हजार ९९६ पर्यटक नेपाल आएका थिए।

यो आधारमा मुख्य दुई महिनाको आगमनमा पाँच प्रतिशत कमी आयो भने करिब १२ हजार २५० पर्यटक बराबरको आगमन गुम्न सक्छ। पर्यटकले नेपालमा गर्ने औसत खर्चलाई जोड्दा यसको असर होटलको कोठा बिक्रीमा मात्र सीमित हुँदैन। हवाई टिकट, आन्तरिक यातायात, ट्रेकिङ, गाइड, रेस्टुरेन्ट, हस्तकला, किनमेल र स्थानीय सेवामा समेत यसको प्रभाव पर्छ।

तर वास्तविक जोखिम पाँच प्रतिशतको अनुमानभन्दा ठूलो पनि हुन सक्छ।

किनभने अहिलेको समस्या प्रत्यक्ष प्रभावित गन्तव्य र सुरक्षित गन्तव्यबीचको सूचना अन्तर हो। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण तथा सगरमाथा क्षेत्रको अवस्था रसुवाको जस्तो छैन।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो प्राकृतिक विपत्तिको समाचार फैलिँदा विदेशी पर्यटकले प्रत्येक गन्तव्यको भौगोलिक दूरी छुट्याएर जोखिम मूल्यांकन गर्छन् भन्ने हुँदैन।

विदेशी पर्यटकका लागि नेपाल एउटै गन्तव्यका रूपमा बुझिन सक्छ। रसुवामा आएको बाढी उनीहरूको मानसिकतामा ‘नेपालमा ठूलो बाढी’ भनेर स्थापित हुन सक्छ।

यही मनोवैज्ञानिक प्रभाव अहिले पर्यटन बोर्ड र निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।

ट्राभल एडभाइजरीले बढाएको जोखिम

भोटेकोशी बाढीपछि विभिन्न देशले नेपालसम्बन्धी यात्रा सूचना अद्यावधिक गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले नेपाललाई Level 2 अर्थात् थप सावधानी अपनाउनुपर्ने श्रेणीमा राख्दै रसुवाको रसुवागढी, टिमुरे र स्याफ्रुबेसी क्षेत्रका लागि थप कडा चेतावनी दिएको छ।

क्यानडाले पनि नेपाल भ्रमणमा उच्च स्तरको सावधानी अपनाउन आग्रह गर्दै रसुवा र नुवाकोटमा गैरआवश्यक यात्रा नगर्न सुझाव दिएको छ। अष्ट्रेलियाले पनि नेपालमा उच्च सावधानी अपनाउन तथा बाढीपहिरो प्रभावित क्षेत्रमा यात्रा गर्दा जोखिम मूल्यांकन गर्न आग्रह गरेको छ।

यस्ता ट्राभल एडभाइजरी सामान्य सरकारी सूचना मात्र होइनन्। अन्तर्राष्ट्रिय ट्राभल कम्पनी, बीमा कम्पनी, कर्पोरेट ट्राभल म्यानेजर र पर्यटकले यात्रा निर्णय गर्दा यिनलाई जोखिम मूल्यांकनको आधार बनाउने गर्छन्।

विशेषगरी ट्रेकिङ र साहसिक पर्यटनमा बीमा कम्पनीको निर्णय महत्वपूर्ण हुन्छ। सडक, पुल र पदमार्ग असुरक्षित रहेको सूचना आएपछि पर्यटकको यात्रा बीमा महँगिन सक्छ। केही अवस्थामा निश्चित क्षेत्रको बीमा कभरेजसमेत सीमित हुन सक्छ।

यसको प्रत्यक्ष असर टुर प्याकेजमा पर्छ। अर्थात् बाढीको पानी घटेपछि मात्र पर्यटन संकट सकिँदैन। सडक खुले पनि अन्तर्राष्ट्रिय बजारमा जोखिमको धारणा कायम रह्यो भने पर्यटक तुरुन्तै फर्किन्छन् भन्ने ग्यारेन्टी हुँदैन।

यही कारण पर्यटन व्यवसायीहरू अहिले भौतिक पुनःस्थापनासँगै अन्तर्राष्ट्रिय सूचना व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताइरहेका छन्।

कैलाश यात्रादेखि लाङटाङसम्म असर

भोटेकोशी विपत्तिको प्रत्यक्ष पर्यटन प्रभाव कैलाश मानसरोवर यात्रामा देखिएको छ। रसुवागढी क्षेत्र प्रभावित भएपछि नेपाल हुँदै कैलाश जाने यात्रुहरू समस्यामा परेका थिए। पर्यटन बोर्डका अनुसार प्रारम्भिक अवस्थामा ३८४ पर्यटक सम्पर्कविहीन भएका थिए। यसमा विदेशी तथा नेपाली यात्रु दुवै थिए।

कैलाश मानसरोवर नेपालभित्रको गन्तव्य नभए पनि नेपाल हुँदै जाने धार्मिक पर्यटनको ठूलो हिस्सा हो। यस यात्रासँग ट्राभल एजेन्सी, होटल, यातायात, गाइड, हेलिकोप्टर सेवा र सीमावर्ती क्षेत्रको स्थानीय अर्थतन्त्र जोडिएको हुन्छ।

रसुवागढी नाका प्रभावित हुँदा त्यसैले प्रभाव केवल सीमा पार गर्ने यात्रुमा सीमित हुँदैन। त्यसको असर सम्पूर्ण पर्यटन आपूर्ति शृंखलामा पर्छ।

लाङटाङको अवस्था भने केही फरक छ। यो नेपालको लोकप्रिय ट्रेकिङ गन्तव्य हो। यसको प्रवेशमार्ग रसुवाको सडक प्रणालीसँग जोडिएको छ। बाढीले सडक, पुल र पदमार्गमा क्षति गरेपछि पर्यटक आवतजावत कठिन बनेको हो।

तर लाङटाङका लागि पुनःस्थापनाको सम्भावना पनि छ। पर्यटन व्यवसायीहरूले मुख्य बाटो पुनःनिर्माण हुन समय लागे वैकल्पिक ट्रेकिङ रुट विकास गरेर पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउन सकिने बताएका छन्।

यसका लागि सरकारले पर्यटन पूर्वाधार पुनर्निर्माणलाई सामान्य सडक मर्मतको विषयका रूपमा मात्र हेर्नु हुँदैन। कुन पदमार्गबाट पर्यटक लैजान सकिन्छ, कहाँ अस्थायी पुल बनाउन सकिन्छ, कुन होटल सञ्चालनमा छन् र कुन क्षेत्र पर्यटकका लागि सुरक्षित छ भन्ने विस्तृत सूचना आवश्यक हुन्छ।

सिजन सुरु हुनुअघि यस्ता काम गर्न नसकिए लाङटाङले यस वर्षको महत्वपूर्ण पर्यटकीय सिजन गुमाउन सक्छ।

‘नेपाल सुरक्षित’ सन्देशले मात्रै पुग्दैन

नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रबाहेक काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयास थालेको छ। विपत्तिपछि अवस्थाको निरन्तर अनुगमन, सूचना संकलन तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सही सूचना उपलब्ध गराउन पर्यटन क्षेत्रका विभिन्न निकाय सम्मिलित क्विक रेस्पोन्स टिम परिचालन गरिएको बोर्डले जनाएको छ।

यो कदम आवश्यक छ। तर अब पर्यटन क्षेत्रलाई सामान्य प्रचारभन्दा धेरै व्यवस्थित सूचना प्रणाली आवश्यक देखिएको छ।

विदेशी पर्यटकले ‘नेपाल सुरक्षित छ’ भन्ने सामान्य विज्ञप्तिभन्दा आफ्नो गन्तव्यको वास्तविक अवस्था जान्न चाहन्छन्।

पोखरा खुला छ कि छैन?

चितवनमा सफारी सञ्चालन भइरहेको छ कि छैन?

अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न सकिन्छ कि सकिँदैन?

काठमाडौंको होटल र यातायात सामान्य छन् कि छैनन्?

यस्ता प्रश्नको तत्काल उत्तर दिन सक्ने डिजिटल सूचना प्रणाली अहिले आवश्यक देखिन्छ। नेपाल पर्यटन बोर्डले नियमित रूपमा प्रकाशित गर्दै आएको ‘टुरीजम इन्साईड’ ले पर्यटक आगमन, स्रोत बजार र पर्यटन गतिविधिसम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको छ। अब त्यही संस्थागत तथ्यांक प्रणालीलाई विपद्पछिको पर्यटन पुनःस्थापनामा प्रयोग गर्न सकिन्छ।

प्रत्येक प्रमुख गन्तव्यका लागि सडक तथा हवाई पहुँच, होटल सञ्चालनको अवस्था, पदमार्गको अवस्था, मौसम र सम्भावित जोखिमबारे नियमित अपडेट सार्वजनिक गर्न सके पर्यटकको निर्णय प्रक्रिया सहज हुन सक्छ।

यसको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हो। भोटेकोशी बाढीको समाचार विश्वभर पुगेको छ। पर्यटन बोर्डका अनुसार करिब २० अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि नेपाल आएर विपत्तिको रिपोर्टिङ गरिरहेका छन्।

उनीहरूलाई प्रभावित क्षेत्रको वास्तविक अवस्था मात्र होइन, प्रभावित क्षेत्रबाहेकका पर्यटकीय गन्तव्यको अवस्था पनि तथ्यसहित उपलब्ध गराउनुपर्ने आवश्यकता छ।

गलत सूचना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय प्रचार होइन, तथ्य हो। पर्यटन व्यवसायीले पनि यही कुरा उठाइरहेका छन्। हानका अध्यक्ष विनायक शाहका अनुसार अहिले समस्या रसुवा क्षेत्रमा केन्द्रित भए पनि बाहिर सिंगो नेपाल नै समस्यामा परेको जस्तो सन्देश जान सक्ने जोखिम छ। काठमाडौं, पोखरा र चितवनलगायतका प्रमुख गन्तव्यमा पर्यटन गतिविधि सामान्य रहेको उनको भनाइ छ।

पर्यटनका लागि यो सूचना अत्यन्त महत्वपूर्ण छ। किनभने एउटा जिल्लाको प्राकृतिक विपत्तिले देशकै पर्यटन बजारलाई प्रभावित पार्न सक्छ।

नेपालको पर्यटन अर्थतन्त्रमा विदेशी पर्यटकको खर्च महत्वपूर्ण छ। पर्यटन बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा पर्यटनबाट प्राप्त विदेशी मुद्रा आम्दानी ४२ अर्ब २० करोड रुपैयाँभन्दा बढी पुगेको थियो।

यसले पर्यटनमा सानो गिरावटको पनि आर्थिक महत्व देखाउँछ। नेपालको पर्यटन क्षेत्र पछिल्ला वर्षमा विभिन्न बाह्य झट्काबाट प्रभावित हुँदै आएको छ। सन् २०२५ को सेप्टेम्बरमा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा उल्लेख्य घटेको थियो। त्यसपछि मुख्य सिजनमा पर्यटन गतिविधि सुधार हुँदै गएको अवस्थामा भोटेकोशी विपत्ति आएको हो।

त्यसैले अहिले चुनौती दुई तहमा छ। पहिलो, रसुवा र अन्य प्रभावित क्षेत्रमा पर्यटन पूर्वाधार पुनर्निर्माण। दोस्रो, अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सुरक्षित, खुला र गन्तव्यअनुसार फरक जोखिम भएको मुलुकका रूपमा बुझाउनु।

दोस्रो काम कमजोर भयो भने पहिलो काम मात्र गरेर पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउन कठिन हुनेछ।

सरकारले प्रभावित होटल, रेस्टुरेन्ट, यातायात व्यवसायी, गाइड, पोर्टर र स्थानीय पर्यटन उद्यमीका लागि पुनःस्थापना प्याकेजबारे तत्काल निर्णय गर्नुपर्ने देखिन्छ।

वैकल्पिक ट्रेकिङ रुट, अस्थायी पुल तथा सडक, पर्यटक सूचना केन्द्र, उद्धार संयन्त्र र बीमा कम्पनीसँग समन्वय अब राहतपछि गर्ने विषय मात्र होइनन्।

पर्यटनमा विपद् जोखिम व्यवस्थापनलाई पूर्वतयारीकै हिस्सा बनाउनुपर्ने आवश्यकता पनि यस घटनाले देखाएको छ।

नेपालको पर्यटन हिमाल, नदी, सडक, मौसम र भौगोलिक जोखिमसँग प्रत्यक्ष जोडिएको छ। एउटा दुर्गम क्षेत्रमा आएको प्राकृतिक विपत्तिले काठमाडौंको ट्राभल एजेन्सीदेखि पोखराको होटल र अन्तर्राष्ट्रिय टुर अपरेटरसम्म प्रभाव पार्न सक्छ।

त्यसैले विपत्ति आएपछि सूचना व्यवस्थापन गर्ने र पुनःस्थापना सुरु गर्ने पुरानो शैली अब पर्याप्त देखिँदैन। जोखिमको पूर्वानुमान, गन्तव्यगत सुरक्षा मूल्यांकन, वैकल्पिक मार्ग र अन्तर्राष्ट्रिय सूचना संयन्त्र पहिले नै तयार हुनुपर्छ।

आगामी तीन महिना नेपालको पर्यटनका लागि महत्वपूर्ण परीक्षा हुनेछ। व्यवसायीले अनुमान गरेको पाँच प्रतिशत गिरावट वास्तविकतामा कति हुन्छ भन्ने अहिले नै निश्चित छैन। तर अन्तर्राष्ट्रिय ट्राभल एडभाइजरी, क्षतिग्रस्त पर्यटकीय पूर्वाधार र मुख्य सिजनको समयलाई हेर्दा जोखिमलाई सामान्य रूपमा लिने अवस्था छैन।

भोटेकोशी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनु आवश्यक छ। त्यत्तिकै महत्वपूर्ण कुरा प्रभावित क्षेत्रबाहेक नेपालका प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने कुरा विश्वसनीय तथ्य, नियमित सूचना र प्रत्यक्ष गन्तव्य अपडेटमार्फत विश्व बजारमा स्थापित गर्नु हो।

किनभने पर्यटनमा सडक खुलेर मात्र हुँदैन। पर्यटकको मनमा पनि बाटो खुल्नुपर्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action