काठमाडौं। एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ९५ हजार २ सय २७ रुपैयाँ सहयोग गरेको छ। संस्थाका प्रतिनिधिहरूले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
हालैको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै संस्थाले सो सहयोग उपलब्ध गराएको हो। सहयोग हस्तान्तरणका क्रममा संस्थाले विपद्को समयमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक र मानवीय संस्थाहरूको साहस र समर्पणको उच्च कदर गरेको छ।
‘मानवता सबैभन्दा माथि’ भन्ने मन्त्रका साथ नेपाली जनतामा देखिएको धैर्यता र सहयोगी भावनाले पुनर्निर्माणको यात्रामा ठूलो बल पुग्ने विश्वास एड्सनले व्यक्त गरेको छ। नेपाललाई आवश्यकता परेको बेला सबै नागरिक र संस्थाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने सन्देश दिँदै संस्थाले देशको संकटमा सधैँ साथ दिने प्रतिबद्धता जनाएको छ।
