गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नेपालका चार धामलाई जोडेर आगामी माघ महिनामा ‘रुरु महास्नान’ आयोजना गर्ने भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत माघ महिनालाई महास्नान महिनाका रूपमा मनाउने घोषणा गरेको हो।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार कालीगण्डकी नदीको तटमा रहेको रुरुक्षेत्रमा माघ महिनामा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ। यसअघि पाँचदिने माघी मेला हुँदै आएकोमा अब महिनाभरि नै विशेष कार्यक्रम सञ्चालन गरी यसको धार्मिक महिमा उजागर गर्ने योजना पालिकाको छ। कालीगण्डकी करिडोरको पहुँच, तीनमुखे पुल तथा ऐतिहासिक संरचनाका कारण रिडी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले नेपालका चार धाम रहेका स्थानीय तहहरूसँग भगिनी सम्बन्ध स्थापना गरिने जानकारी दिनुभयो। यसले त्रिवेणी देवघाट, रिडी, कागबेनी, मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्मको शालिग्रामपथको अवधारणालाई अगाडि बढाउनेछ। पालिकाले शालिग्रामको संरक्षण र प्रचार-प्रसार गरी रुरुक्षेत्रलाई राष्ट्रियस्तरको तीर्थाटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
रिडी क्षेत्रमा ऋषिकेश मन्दिर, गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान वाटिका, गणेश-भैरव मन्दिर, सत्येश्वर मन्दिर, सुगन्धविहार र बुद्ध स्तूपलगायतका धार्मिक स्थलहरू छन्। स्थानीय व्यवसायी रविलाल पन्थका अनुसार गुप्तेश्वर महादेव मन्दिर, रुरुकन्या मन्दिर र गल्फुले गुफासमेत यहाँका प्रमुख आकर्षण हुन्।
