चितवन। शारीरिक अशक्तता भएका व्यक्तिहरूका लागि आवश्यक ह्वीलचियर, ट्राइसाइकल र बिरामीमैत्री शय्या चितवनमै उत्पादन हुन थालेका छन्।
भरतपुर महानगरपालिका-७ मा रहेको नेपाल आविष्कार केन्द्रले व्यक्तिको शारीरिक अवस्था र आवश्यकताअनुसारका उपकरण निर्माण गरिरहेको छ।
केन्द्रका अध्यक्ष विजय सुवेदीका अनुसार २०८३ जेठ २० गते मुनाफा नबाँड्ने कम्पनीका रूपमा दर्ता भएको यस संस्थामा ५१ जना संस्थापकको जनही एक लाख रुपियाँ लगानी रहेको छ। २२ कठ्ठा क्षेत्रफलमा फैलिएको केन्द्रमा हाल पाँच जना दक्ष कर्मचारी कार्यरत छन्।
प्रमुख इन्जिनियर सुनिल परियारले हालसम्म १६ प्रकारका ह्वीलचियर निर्माण गरिसकेको जानकारी दिए। केन्द्रले निर्माण गरेको विद्युतीय ट्राइसाइकल एकपटक पूर्ण चार्ज गरेपछि करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ।
परियारका अनुसार यो ट्राइसाइकलले चार क्विन्टलसम्म भार बोक्न सक्ने क्षमता राख्छ। यसको प्रयोग यात्रा गर्न, सामान ढुवानी गर्न र साना व्यापार-व्यवसाय सञ्चालन गर्न सकिन्छ।
केन्द्रले हालसम्म एक सयभन्दा बढी ह्वीलचियर र दुई दर्जनभन्दा बढी ट्राइसाइकल बिक्री गरिसकेको जनाएको छ। उत्पादित उपकरणहरू विभिन्न सामाजिक संस्थाले खरिद गरी लक्षित वर्गलाई वितरण गर्दै आएका छन्। यसबाहेक, केन्द्रले भरतपुर महानगरपालिकासँगको सहकार्यमा मोबाइल शौचालय निर्माण तथा सूचना प्रविधिसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ।
आगामी दिनमा रोबोट ल्याब, ड्रोन निर्माण र सूचना प्रविधिसम्बन्धी बृहत् प्रयोगशाला स्थापना गर्ने तयारी रहेको अध्यक्ष सुवेदीले बताउनुभयो। हाल अध्ययन, सिकाइ र उत्पादनलाई प्राथमिकता दिँदै आएको केन्द्रले निकट भविष्यमा थप नयाँ आविष्कारका काम अघि बढाउने योजना बनाएको छ।
