काठमाडौं। देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोपीडितको उद्धार र राहतका लागि गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सोमबार हस्तान्तरण गरिएको उक्त रकम सरकारद्वारा सञ्चालित आपत्कालीन खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा खर्च गरिनेछ। विपद्को यस घडीमा प्रभावित समुदायप्रति सहानुभूति प्रकट गर्दै ट्रष्टले राष्ट्रको साथमा उभिने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा आइपर्ने हरेक संकटका बेला नागरिकको सहयोगमा जुट्ने परम्परालाई यसपटक पनि निरन्तरता दिइएको ट्रष्टले जनाएको छ।
