फिदिम। पाँचथरको हिलिहाङ गाउँपालिका-७ का ओमनाथ रिजालले बाँझो पाखाबारीमा सिउँडी फल (ड्र्यागन फ्रुट) खेती गरेर राम्रो आम्दानी लिन थालेका छन्।
काठमाडौँबाट गाउँ फर्केर कृषिमा लाग्नुभएका रिजालले पाँच वर्षअघि सुरु गरेको खेती अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ। उनले थप १२ रोपनी जग्गामा समेत यो खेती विस्तार गर्ने योजना बनाए।
रिजालले स्थापना गर्नुभएको जैविक कृषि फार्ममा अहिले तेस्रो सिजनको फल पाकेको छ। उनका अनुसार असार र साउनमा दुई चरणमा उत्पादन भइसकेको यो फल जेठदेखि कात्तिक महिनासम्म निरन्तर उत्पादन हुन्छ।
बिरुवा रोपेको १८ महिनामै फल दिन सुरु गर्ने र एक पटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिने विज्ञहरू बताउँछन्। फूल फुलेको २८ दिनमा फल पाक्ने गर्दछ।
खेतीका लागि फलामको पिल्लरमा टायर राखेर बिरुवाको सहारा बनाइएको छ। हिउँदमा सिँचाइ र वर्षामा गोडमेल तथा मलखादको व्यवस्थाबाहेक अन्य धेरै मेहनत गर्नु नपर्ने भएकाले यो खेती सहज भएको रिजालको अनुभव छ। उत्पादन भएको फलको मुख्य बजार पाँचथरको सदरमुकाम फिदिम रहेको छ।
ड्र्यागन फ्रुटका अध्येता पूर्णप्रसाद लुइटेलका अनुसार यो फल रातो र सेतो गरी दुई प्रकारको हुन्छ। मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व र औषधीय गुण पाइने भएकाले यसलाई सुपर फुडका रूपमा समेत लिइन्छ।
