काठमाडाैं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले बजारमा चिनीको मौज्दात हुँदाहुँदै पनि मूल्यवृद्धि भएको भन्दै यसको कारण खोज्नुपर्ने बताएका छन्। उनले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता जनाइए पनि केही महिनाभित्रै चिनीको मूल्य अत्यधिक बढेको भन्दै समितिमा प्रश्न उठेको हो। पहिले भ्याटसहित ९६ रूपैयाँ पर्ने चिनीको मूल्य अहिले बजारमा १०५ देखि १३० रूपैयाँसम्म पुगेको छ। सभापति अन्सारीले समयमै अन्य मुलुकबाट चिनी आयात नगर्दा अहिलेको अभाव र मूल्यवृद्धिको अवस्था सिर्जना भएको बताएका छन्।
समितिले उपभोक्ता हित, कार्टेलिङ र कालो बजारी नियन्त्रणका लागि आवश्यक विधेयक तथा कानुन यथाशीघ्र संसद्मा पेस गर्न मन्त्रालयलाई आग्रह गरेको छ। सभापति अन्सारीले बजार अनुगमनलाई व्यावहारिक र तर्कपूर्ण बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, महँगो सफ्टवेयर खरिदमा हुने अपारदर्शिता रोक्नुपर्ने तथा पूर्वाधार क्षतिले गर्दा बढेको ढुवानी लागत र इन्धन आपूर्ति जस्ता व्यावहारिक समस्याहरूलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने उनको निष्कर्ष छ।
