काठमाडाैं । नेपाल टेलिकमले भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त बनेको रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रको फाइबर नेटवर्कको पहिलो चरणको मर्मत कार्य सम्पन्न गरेको छ। बाढीले उक्त क्षेत्रमा टेलिकमको दुई वटा ओएलटी, पाँच वटा एफडीसी र करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो।
यस प्राकृतिक विपद्का कारण सो क्षेत्रमा सञ्चालित कुल १ हजार ५४४ एफटीटीएच लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए। विपद्पछि टेलिकमले प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिएको थियो। टेलिकमका अनुसार हालसम्म प्रभावित १ हजार ५४४ लाइनमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनः सञ्चालनमा आएका छन्।
बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। टेलिकमले विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताएको छ। साथै, सेवा अवरुद्ध भएको अवधिमा ग्राहकले देखाएको धैर्यता र विश्वासप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
