जनकपुरधाम। मधेश प्रदेश सरकारले पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्मको अवधिमा ती संरचना निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रममार्फत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ वटा घर निर्माण भएका छन्। विपन्न तथा दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले यी कार्यक्रम सञ्चालन गरिएको हो।
सोही अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ वटा धर्मशाला निर्माण सम्पन्न भएका छन्। मन्त्रालयका सूचना अधिकारी रोहित जोशीले प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा भवन निर्माण गरिएको जानकारी दिए।
सरकारी भवन निर्माणले कार्यालय सञ्चालनमा सहजता हुनुका साथै सेवाग्राहीलाई व्यवस्थित वातावरणमा सेवा लिन मद्दत पुगेको मन्त्रालयको भनाइ छ। सामुदायिक भवनहरूले गाउँटोलमा विवाह, बैठक र सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज बनाएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको बताए। उनले भने, “पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ।”
