काठमाडाैं । लिपमोटर बी ०३ एक्स, जुन चिनियाँ बजारमा ए १० का रूपमा परिचित छ, चीनमा दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बनेको छ । यस मोडलले अगस्ट महिनामा मात्र ३०,६५२ युनिट बिक्री गरेको छ । यससँगै बी ०३ एक्स लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडी बनेको छ । गत मार्च २६ मा बजारमा आएको यो मोडलले १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कीर्तिमान कायम गरेको हो ।
यसको सफलतासँगै लिपमोटर लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बनेको छ । बी ०३ एक्समा १४५ किलोवाट मोटर, ५५ किलोवाट ब्याट्री र ५०५ किलोमिटर सीएलटीसी रेन्ज रहेको छ । यसमा १६ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने फास्ट चार्जिङ सुविधा छ ।
गाडीको इन्टेरियरमा क्वालकम स्न्यापड्रैगन ८२९५ पी ककपिट चिपसहितको डुअल हाई-परफर्मेन्स चिप जडान गरिएको छ । यसमा ५१० लिटरको बूट स्पेस रहेको छ, जसलाई सिट फोल्ड गरेर १६०५ लिटरसम्म बढाउन सकिन्छ । स्टेलान्टिस समूहको साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल ब्रान्ड हो । कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ र ४५ भन्दा बढी देशहरूमा २,००० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ ।
