काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका ३८३ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डले स्वीकृत दाबीबापतको भुक्तानी गरेको हो। भुक्तानी पाउने संस्थामा विभिन्न जिल्लाका सरकारी, निजी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरू रहेका छन्।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेबापत स्वीकृत भएका दाबीमध्ये वैशाखसम्म भुक्तानी हुन बाँकी रकम सम्बन्धित सेवा प्रदायक संस्थाको बैंक खातामा पठाइएको हो।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाबाट प्राप्त दाबीको प्रक्रिया पूरा गरी स्वीकृत रकम चरणबद्ध रूपमा भुक्तानी गर्दै आएको जनाएको छ।
