काठमाडौँ। युएसभी फर्मास्युटिकल्सले हालैको बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा बाढी र हिमबाढीबाट प्रभावित तीन सय घरधुरीका एक हजार पाँच सय जनालाई उक्त रकमबाट सहयोग गरिनेछ।
बिहीबार आयोजित एक कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाबिच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको थियो।
डा. रिजालका अनुसार प्रभावित परिवारका लागि तीन सय वटा अस्थायी आवास निर्माण गरिनेछ। साथै, ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती, मोबाइल चार्जिङ सुविधा, स्वच्छ खानेपानी, सरसफाइका सामग्री, औषधि र अन्य घरायसी सामग्री वितरण गरिनेछ।
सङ्घका सदस्यहरूले प्रभावित क्षेत्रमा स्थलगत रूपमा आवश्यकता पहिचान गरी राहत वितरण गरिने डा. रिजालले जानकारी दिए।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत सिसोडियाले विपद्का समयमा समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए। स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्था भएकाले मानवीय सङ्कटमा प्रभावितको साथमा उभिनु दायित्व रहेको उनको भनाइ छ।
युएसभी फर्मास्युटिकल्सका नेपाल प्रमुख सुरज श्रेष्ठले प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले सङ्घसँग सहकार्य गरिएको बताए। कम्पनीका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्को समयमा निजी क्षेत्र, स्वास्थ्य संस्था र सामाजिक निकायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
