काठमाडौं। विज्ञापन व्यवसायी निर्मलराज पौडेलद्वारा लिखित पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ।
उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार र पूर्वन्यायाधीश डा श्रीकृष्ण भट्टराईले एक कार्यक्रमबीच पुस्तकको डिजिटल लोकार्पण गरेका हुन्।
पुस्तकमा नेपालको सञ्चार क्षेत्रको वर्तमान अवस्था, विज्ञापन निर्माण, यसको बजार र बदलिँदो विज्ञापन संस्कारका विषयहरू समेटिएका छन्।
नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका पौडेलले आफ्नो व्यावसायिक जीवनका आरोह-अवरोह, विज्ञापन व्यवसायमा भोगेका सफलता तथा असफलता र समाजले विज्ञापनलाई हेर्ने दृष्टिकोणबारे चर्चा गरेका छन्।
करिब ६०० भन्दा बढी विज्ञापन निर्माण गरिसकेका पौडेलले यस पुस्तकमा आफ्नो अनुभव र विज्ञापन क्षेत्रमा आएका पछिल्ला परिवर्तनहरूलाई समेटेका छन्।
पुस्तक सार्वजनिक गर्दै उद्योगपति चौधरीले यो कृति विज्ञापन क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताका लागि मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताए।
सञ्चार उद्यमी राजकर्णिकारले पुस्तकले विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सरकारी नीतिबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक रूपमा विश्लेषण गरेको उल्लेख गरे।
त्यस्तै, पूर्वन्यायाधीश भट्टराईले विज्ञापनको परम्परागत शैलीबाट डिजिटल रूपान्तरणसम्मको यात्रालाई पुस्तकमा सूक्ष्म रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे।
लेखक पौडेलले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागेका र भविष्यमा यस क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका लागि आफूले जानेका र भोगेका ज्ञानका कुराहरू पुस्तकमा समेट्ने प्रयास गरेको बताए।
