Logo

राष्ट्र बैङ्कले उद्यमीलाई सहजीकरण गर्छ : गभर्नर

अ+ अ-

ललितपुर- नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मुलकमा उद्यमशीलताको विकासका लागि राष्ट्र बैङ्कले सहजीकरण गर्दै जाने बताउनुभएको छ । उद्यमीहरूको विकासमा नेपाल राष्ट्र बैङ्कले सहजीकरण गर्ने बताउनुभएको छ ।

आइएमई लिमिटेडद्वारा शुक्रबार ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले उद्यमशीलता प्रवर्धनका लागि पुँजीको पहुँचलाई पनि सहज बनाइने धारणा राख्नुभएको हो ।

कार्यक्रममा पौडेलले हुन्डीबाट हुने कारोबारलाई बैङ्किङ प्रणालीमा ल्याउन आइएमई लिमिटेडले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो । “आइएमईको यो योगदान धेरै ठुलो हो । चुनौती लिएर काम गर्न सक्ने व्यक्तिहरू देशका लागि आवश्यक छ ।” उहाँले रोजगारी र व्यावसायिक सम्भावना खोज्ने व्यक्तित्वले समग्र अर्थतन्त्रको उत्थानमा भूमिका खेल्ने टिप्पणी गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल राष्ट्र बैङ्कले जारी गर्ने नीति नियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । आइएमई समूहका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनताको साथ, विश्वास र सरकारको सहयोगले आइएमई समूह बलियो बन्दै आएको बताउनुभयो ।

अध्यक्ष ढकालले जनताको साथ सहयोग र सरकारको सहयोगी भूमिकाकै कारण आइएमई समूह अहिले बैङ्किङ, ऊर्जा, अथिति सत्कार जस्ता उद्योगमा सफलता पाउँदै आएको बताउनुभयो । “त्यसबेला सरकारले उदारीकरणको नीति अनुसार हामीलाई विश्वास र साथ दिएकाले अहिले यो बृहत् अवस्थामा आउन सकेका छौँ,” ढकालले भन्नुभयो, “हामीले नाफाका लागि भन्दा पनि जनताको सहजता हेरेर व्यवसाय गर्छौं र आमनागरिकको पनि सहयोग पाउँदै आएका छौँ ।”

उहाँले सरकारको प्राथमिकता, आमनागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्व दिएर काम गर्ने बताउनुभयो । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरुवात भएको स्मरण गर्नुभयो ।