काठमाडौँ- नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको बैङ्किङ क्षेत्रको प्रभावकारिता र समग्र अर्थतन्त्रमा स्थायित्वका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार आयोजना गरेको गभर्नर पौडेलको स्वागत तथा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको बिदाइ कार्यक्रममा डा. पौडेलले राष्ट्र बैङ्कको विद्यमान प्रभावकारी वर्तमान नीति र व्यवस्थालाई ठुलो परिवर्तन नगरी निरन्तरता दिने बताउनुभयो । “आवश्यक परेको ठाउँमा मात्रै सुधार गर्ने छौँ, अर्थतन्त्रमा स्थायित्व ल्याउने गरी नीतिगत व्यवस्था गर्ने हो,” उहाँले भन्नुभयो । पौडेलले आगामी दिनमा बैङ्किङ क्षेत्रसँग समन्वय र परामर्श गरेर नीति निर्माण गर्ने र नेपाली बैङ्किङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान गभर्नर अधिकारीले कोभिड–१९ महामारीपछि आर्थिक स्थायित्व कायम भएको दाबी गर्दै यस्तो उपलब्धि राष्ट्र बैङ्कको मात्र नभई, बैङ्किङ क्षेत्रको सहकार्य र साझा प्रयासले सम्भव भएको औँल्याउनुभयो । अधिकारीले विगतका केही निर्णय कठिन भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताउनुभयो । नेपालको बैङ्किङ क्षेत्रले विगतका गल्तीबाट सिक्दै भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिनतर्फ सतर्क रहनुपर्ने बताउनुभयो ।