काठमाडौं। भारतबाट भइरहेको बोइलर कुखुराको अवैध आयातका कारण रौतहटका किसान र व्यवसायी आर्थिक संकटमा परेका छन्।
खुला सीमाको फाइदा उठाउँदै रामपुरखाप, बङ्कुल, नरकटिया, खापघिउरा र मत्सरीलगायतका नाकाबाट दैनिक ठुलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्रिने गरेको छ।
स्थानीय किसानका अनुसार, यसरी भित्र्याइएका कुखुरालाई सीमावर्ती नेपाली फार्ममा राखेर स्वदेशी उत्पादनको नक्कली बिल बनाई बजारमा पठाउने गरिएको छ।
जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका सचिव राधेश्याम साहले दाना र औषधिको मूल्य वृद्धिले उत्पादन लागत प्रतिकिलो २६० देखि २७० रुपियाँ पुगेको बताउनुभयो। भारतबाट सस्तो मूल्यमा कुखुरा आउँदा नेपाली किसानले लागत मूल्यसमेत उठाउन सकेका छैनन्।
साथै, क्वारेन्टाइन र स्वास्थ्य परीक्षणविना भित्रिने कुखुराका कारण पशुपन्छीजन्य रोग फैलने उच्च जोखिम बढेको छ। तस्करी नियन्त्रणका लागि किसानले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने जस्ता आन्दोलन गरे पनि समस्या समाधान हुन सकेको छैन। चन्द्रपुर नगरपालिका-६ का व्यवसायी सुशील केसीले तस्करीको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सीमा क्षेत्रको अवस्था बुझेर तस्करी रोक्न तत्काल आवश्यक कदम चालिने बताउनुभएको छ।
