नेपालगन्ज। बाँके जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत कुल १ हजार २५३ वटा नयाँ उद्योग र फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तीमगरका अनुसार सो अवधिमा ६२७ उद्योग र ६२६ वाणिज्य फर्म दर्ता भएका हुन् ।
नयाँ दर्तासँगै जिल्लामा कुल उद्योगको संख्या १५ हजार ८०७ पुगेको छ । गत आर्थिक वर्षमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेज गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६५७ उद्योग दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए ।
वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भएसँगै कुल संख्या २१ हजार ९८० पुगेको छ । यस अवधिमा एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ७१२ फर्म दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए ।
कार्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयका लागि विनियोजित तीन करोड तीन लाख ९२ हजार बजेटमध्ये दुई करोड २५ लाख १२ हजार ९५० खर्च भएको छ । यस अवधिमा कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षमा कार्यालयले एक करोड ६३ लाख सात हजार ७९५ रुपियाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सो कार्यालयको राजस्व संकलन एक करोड ९७ लाख ३१ हजार ७८५ रुपियाँ थियो ।
