काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तरनगर सहकार्य र साझेदारीमा आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर र मध्यपुर थिमी नगरपालिकासँग सहकार्यका लागि छलफल गर्दै रात्रिकालीन यातायातलाई उपत्यकाको साझा आवश्यकता भएको बताएकी छन्।
कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन यातायात सञ्चालन हुने पालिकाले अपनत्व लिने गरी सेवा विस्तार गर्नुपर्ने बताइन्। उनका अनुसार यसअघि तीन महिनासम्म गरिएको परीक्षणबाट अन्तरनगर साझेदारीमा रात्रिकालीन बस सेवा सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले काठमाडौं र भक्तपुरलाई जोड्ने ट्रली बस सेवाको विगत स्मरण गर्दै रात्रिकालीन सार्वजनिक यातायातको प्रस्ताव सकारात्मक रहेको बताए। उनले यस्तो सेवाको आवश्यकता नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राखे।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पनि रात्रिकालीन यातायात सञ्चालन गर्ने महानगरको योजनामा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनका अनुसार सार्वजनिक यातायातको सहज पहुँच विस्तार हुँदा मध्यपुर थिमीलगायत उपत्यकाका बासिन्दालाई ठूलो राहत पुग्नेछ।
साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलले स्थानीय तहको साझेदारीमा सेवा सञ्चालन हुँदा यात्रुमा सुरक्षाको विश्वास बढ्ने र सार्वजनिक यातायातप्रति आकर्षण बढ्ने बताए। रात्रि व्यवसायमा संलग्न व्यक्ति, श्रमिक, विद्यार्थी, बिरामी तथा आन्तरिक पर्यटकका लागि सेवा उपयोगी हुने उनको भनाइ छ।
६ रुटमा २८ विद्युतीय बस
असोज ३ गतेदेखि साझा यातायातका २८ वटा विद्युतीय बस राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ।
गोदावरी–बुढानीलकण्ठ: ६ बस
जगाती–रत्नपार्क–ठमेल: ६ बस
एयरपोर्ट–नागढुंगा: ४ बस
कीर्तिपुर–नयाँ सडक–नेपाल वायुसेवा निगम: ४ बस
चक्रपथमा दुईतर्फी: ८ बस
चक्रपथमा सेवा सञ्चालन भएपछि यात्रुले बीचमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न रुटमा यात्रा गर्न सक्नेछन्। यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने जनाइएको छ।
महानगरपालिकाले राति बस पार्किङ तथा चार्जिङका लागि विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने र बिहान सबेरैदेखि विद्यार्थी लक्षित सेवा सञ्चालन गर्ने लक्ष्यसमेत राखेको छ।
हाल साझा यातायातसँग १११ वटा बस रहेका छन्। साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ।
