udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एआईको दौड : अवसर कि मानव अस्तित्वकै जोखिम?

मानव क्षमताको सीमा विस्तार गर्ने एआई अब अर्थतन्त्र, रोजगारी र शक्तिको केन्द्र बन्दैछ; तर यही दौड नियन्त्रणबाहिर गए मानव सभ्यताकै चुनौती बन्ने डर बढ्दैछ।

एआईको दौड : अवसर कि मानव अस्तित्वकै जोखिम?
A A+ A-

एकाबिहानै मानिसले आफ्नो मोबाइल खोलेर आफूले नलेखेको समाचार पढ्छ, आफूले नबनाएको तस्वीर हेर्छ र आफूले नसोधेको प्रश्नको उत्तर पाउँछ।

केही वर्षअघिसम्म असम्भवजस्तो लाग्ने यो दृश्य अहिले सामान्य बन्दै गएको छ। मानिसले लेख्न लगाउन सक्छ, तस्वीर बनाउन सक्छ, भिडियो बनाउन सक्छ, कुनै विषयमा अनुसन्धान गराउन सक्छ, हिसाब गर्न सक्छ र कम्प्युटरमा आफैं काम गरिदिन पनि सक्छ।

अहिले संसारको सबैभन्दा ठूलो चासो भनेको एआईले अब के गर्न सक्नेछ, त्यसको गति कति हुनेछ र त्यसलाई नियन्त्रण गर्ने शक्ति कसको हातमा हुनेछ?

यही चासो र चिन्तालाई अहिले विश्वका सबैभन्दा शक्तिशाली प्रविधि कम्पनी, सरकार, वैज्ञानिक र लगानीकर्तालाई एउटै बहसमा ल्याएको छ।

एआईको विकास रोक्ने कि अझ तीव्र बनाउने? एआईलाई मानिसको क्षमताको सबैभन्दा ठूलो विस्तार मान्ने कि मानव नियन्त्रणका लागि सम्भावित सबैभन्दा ठूलो चुनौती? यो बहस अहिले सिद्धान्तमा मात्र सीमित छैन।

सेप्टेम्बर २०२६ मा विश्वका प्रमुख एआई कम्पनीका नेतृत्वबाटै यसको विकासको गति केही सुस्त बनाउनुपर्ने आवाज उठेको छ। एआईका अगुवाहरू नै अब ब्रेक खोज्दैछन्।

एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले भने, “हामीले एआई मोडेलको क्षमता बढाउने गति घटाउनुपर्छ।” ओपनएआईका साम अल्टम्यान र एक्सएका एलन मस्कले उनको आह्वान समर्थन गरेका छन्।

अमोडेईका अनुसार स्वतन्त्र सुरक्षा मूल्याङ्कन, कम्पनीबीच सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।

उनको चेतावनी छ, आगामी ६–१२ महिनामै एआई अभिकर्ताको समूहले इन्टरनेटमा व्यापक नियन्त्रण जमाएर सयौँ अर्ब डलरको क्षति गर्न सक्ने अवस्था आउन सक्छ।

तर ब्रेक लगाउन सजिलो छैन। जुन कम्पनीलाई गति घटाउन भनिँदैछ, तिनै कम्पनीको मूल्य, लगानी र भविष्यको बजार अग्रता गति बढाउनमै निर्भर छ। ओपनएआई र एन्थ्रोपिक दुवै ठूलो सार्वजनिक निष्कासनको तयारीमा छन्।

त्यसैले एआईको असली द्वन्द्व प्रविधि बनाम सुरक्षा मात्र होइन, दौड रोक्ने विवेक र दौड हार्ने डरबीचको संघर्ष हो।

एआई बनाउनेहरूकै एउटा हिस्साले अहिले सावधानीको पक्ष लिँदै प्रश्न उठाएका छन्–हामी धेरै छिटो त दौडिरहेका छैनौँ? तर एआई दौड अझै अगाडि बढाउनुपर्छ भन्ने अर्को पक्ष शक्तिशाली छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईसम्बन्धी बढ्दो डरलाई अतिरञ्जित भन्दै अमेरिकाले एआईमा नेतृत्व गुमाउन नहुने धारणा राखेका छन्। उनको तर्क सरल छ-अमेरिका रोकिए चीन रोकिने छैन।

यहीँबाट एआईको सबैभन्दा ठूलो विरोधाभास सुरु भइसकेको छ। दौड किन रोकिँदैन?

यदि एउटा कम्पनीले सुरक्षित बनाउन भन्दै शक्तिशाली प्रणाली बनाउन केही महिना ढिला गर्‍यो र अर्को कम्पनीले त्यही समयमा नयाँ प्रणाली सार्वजनिक गर्‍यो भने बजारमा पहिलो कम्पनी पछि पर्न सक्छ।

यदि अमेरिका सुस्त भयो र चीन अघि बढ्यो भने अमेरिकाले रणनीतिक लाभ गुमाउने डर हुन्छ। यदि चीन सुस्त भयो र अमेरिका अघि बढ्यो भने चीनले पनि त्यही डर सामना गर्छ।

यसरी एआईको प्रतिस्पर्धा व्यापारभन्दा बाहिर निस्केर राष्ट्रिय शक्ति र सुरक्षा नीतिको विषय बनेको छ।

स्ट्यानफोर्ड विश्वविद्यालयको २०२६ को कृत्रिम बुद्धिमत्ता सूचकांकले विश्वव्यापी निजी एआई लगानी २०२५ मा दोब्बरभन्दा बढी बढेको देखाएको छ। अमेरिकाको निजी लगानी चीनको तुलनामा धेरै अगाडि भए पनि चीनको सरकारी लगानीलाई निजी लगानीका तथ्यांकले पूर्ण रूपमा समेट्दैन।

अत्याधुनिक प्रणालीबीचको क्षमताको अन्तर साँघुरिँदै गएको छ। स्ट्यानफोर्डका अनुसार २०२६ को सुरुआतसम्म प्रमुख अमेरिकी र चिनियाँ प्रणालीहरूबीचको क्षमताको अन्तर निकै कम भइसकेको थियो।

यसको अर्थ एआई अब एउटा कम्पनीले अर्को कम्पनीलाई जित्ने सामान्य व्यापारिक प्रतिस्पर्धा मात्र रहेन। यो भविष्यको आर्थिक शक्ति कसको हातमा रहने भन्ने प्रतिस्पर्धा हो। र यही प्रतिस्पर्धाले सुरक्षा चिन्तालाई अझ कठिन बनाइरहेको छ।

मानिसभन्दा पहिले मेसिन?

एआईको पहिलो पुस्ताले मानिसको काम सजिलो बनायो। दोस्रो पुस्ताले मानिसले गर्ने केही काम आफैं गर्न थाल्यो। अब तेस्रो पुस्ता अझ अगाडि बढिरहेको छ–मानिसले दिएको आदेश पालना गर्ने मात्र होइन, दिइएको उद्देश्य पूरा गर्न आवश्यक चरण पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने र कामको ठूलो हिस्सा आफैं सम्पन्न गर्ने दिशामा।

यही परिवर्तन एआईको वास्तविक मोड हो। आज मानिसले मेसिनलाई प्रश्न गर्छ र उत्तर पाउँछ। भोलि मानिसले प्रश्न होइन, उद्देश्य दिन सक्छ। बाँकी काम मेसिनले सम्हाल्न सक्छ।

बैंकको हिसाब मिलाउनुपर्‍यो भने अभिलेख खोज्ने, तथ्य जाँच्ने, नमिलेका विवरण छुट्याउने र प्रतिवेदन तयार गर्ने काम उसैले गर्न सक्छ। कार्यालयमा कागजात तयार गर्नुपर्‍यो भने आवश्यक सूचना खोज्ने, पुराना अभिलेखसँग तुलना गर्ने र अन्तिम मस्यौदा बनाउने काम पनि उसैले गर्न सक्छ।

व्यापारिक निर्णयका लागि विभिन्न स्रोतबाट तथ्य जम्मा गरेर सम्भावित परिणामको तुलना गर्न सक्छ। कम्प्युटरमा कार्यक्रम चलाउन, त्रुटि खोज्न र सुधार गर्न सक्छ। साइबर सुरक्षामा कमजोरी पत्ता लगाउन सक्छ।

मेसिनले एउटा काम गर्नु नयाँ कुरा होइन। नयाँ कुरा के हो भने उसले एउटा उद्देश्यबाट अर्को कामतर्फ आफैं अघि बढ्न सक्नु हो।

यसले उत्पादनशीलताको सम्भावना असाधारण रूपमा बढाउँछ। एउटा कर्मचारीले दिनभर लगाएर गर्ने खोज, तुलना, लेखाजोखा र कागजात तयारी केही मिनेट वा घण्टामै हुन सक्छ। अनुसन्धानको गति बढ्न सक्छ। औषधि विकासदेखि वित्तीय विश्लेषणसम्म, शिक्षा र प्रशासनदेखि सञ्चारसम्म, ज्ञानमा आधारित कामको लागत घट्न सक्छ।

तर उत्पादकत्वको यही शक्ति रोजगारीका लागि दबाब बन्न सक्छ। मेसिनले मानिसको हातबाट काम खोस्छ कि मानिसको कामको स्वरूप मात्र बदल्छ भन्ने प्रश्नको उत्तर एउटै हुने छैन।

केही काम हराउनेछन्, केही नयाँ काम जन्मिनेछन् र धेरै काममा मानिस तथा मेसिनबीचको सम्बन्ध नै फेरिनेछ।

समस्या त्यतिमै सकिँदैन। मानिसले गल्ती गर्दा गल्ती प्रायः मानिसको पहुँचभित्र सीमित रहन्छ। स्वचालित प्रणालीले गल्ती गर्दा त्यसलाई धेरै चरणमा दोहोर्‍याउन सक्छ।

गलत तथ्यबाट सुरु भएको निर्णयले गलत प्रतिवेदन बनाउन सक्छ; गलत प्रतिवेदनले गलत निर्णय जन्माउन सक्छ; र त्यस्तो निर्णयलाई अर्को स्वचालित प्रणालीले फेरि सही ठान्न सक्छ। गति बढ्दा गल्तीको विस्तार पनि तीव्र हुन सक्छ।

अझ गम्भीर पक्ष दुरुपयोगको हो। जसरी एआईले अनुसन्धान, सुरक्षा र प्रशासनमा मानिसको क्षमता बढाउन सक्छ, त्यसरी नै ठगी, भ्रम फैलाउने काम, साइबर आक्रमण वा अन्य हानिकारक गतिविधिमा संलग्न व्यक्तिको क्षमता पनि बढाउन सक्छ।

एउटै प्रविधि रक्षकका लागि ढाल र आक्रमणकारीका लागि हतियार बन्न सक्छ।

२०२६ को अन्तर्राष्ट्रिय एआई सुरक्षा प्रतिवेदनले सामान्य प्रयोजनका एआईबाट उत्पन्न जोखिमलाई तीन प्रमुख क्षेत्रमा राखेको छ–जानाजानी गरिने दुरुपयोग, प्रणालीको गलत वा अनपेक्षित व्यवहार र समाज तथा अर्थतन्त्रमा व्यापक प्रयोगबाट उत्पन्न हुने प्रणालीगत जोखिम।

सयभन्दा बढी विशेषज्ञ तथा ३० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा तयार गरिएको प्रतिवेदनले केही जोखिमका प्रमाण अहिले नै देखिन थालेको र केही जोखिमको सम्भावना अझै अनिश्चित भए पनि त्यसको सम्भावित असर अत्यन्त गम्भीर हुन सक्ने औंल्याएको छ।

यसको अर्थ एआईलाई रोक्नु नै समाधान हो भन्ने होइन। बरु यसको अर्थ नियन्त्रणविनाको दौड आफैंमा जोखिम बन्न सक्छ भन्ने हो।

प्रविधि जति शक्तिशाली हुन्छ, त्यसको प्रयोगका नियम, परीक्षण, उत्तरदायित्व र मानवीय निगरानी पनि त्यति नै बलियो हुनुपर्छ।

एआईको असली परीक्षा मानिसभन्दा छिटो सोच्न सक्नु होइन। मानिसले नसोचेको गल्ती गर्दा त्यसलाई रोक्न सक्नु हो।

अबको चासो असहज छ–कुन काममा मेसिनलाई निर्णय गर्न दिने, कति अधिकार दिने र अन्तिम जिम्मेवारी कसको रहने?

एआई सुरक्षा भविष्यको कुनै काल्पनिक संकट होइन। यो अहिले नै बैंक, कार्यालय, विद्यालय, अस्पताल, सञ्चारमाध्यम, बजार र सरकारको ढोकामा उभिएको प्रश्न हो।

मानिसले मेसिनलाई कति शक्तिशाली बनाउने भन्ने निर्णय गरिरहेको छ। तर त्योभन्दा महत्वपूर्ण निर्णय त्यो शक्ति कहाँ रोक्ने भन्ने हो।

गलत हातमा एआई

एआईको जोखिम मानिसको रोजगारी मेसिनले खोस्ने सम्भावनामा मात्र सीमित छैन। ठूलो जोखिम एआई प्रविधिले मानिसको क्षमता असाधारण रूपमा बढाइदिनुमा छ, त्यो क्षमता राम्रो कामका लागि प्रयोग होस् वा खराब कामका लागि।

एआईको जोखिम अब भविष्यको अनुमान होइन, प्रयोग भइसकेको प्रविधिको वास्तविक परिणाम हो।

२०२६ को अन्तर्राष्ट्रिय एआई सुरक्षा प्रतिवेदनले दुर्भावनापूर्ण प्रयोग, एआईको अनपेक्षित व्यवहार र व्यापक प्रणालीगत जोखिमलाई प्रमुख खतरा मानेको छ। प्रतिवेदन ३० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका १०० भन्दा बढी विशेषज्ञको योगदानमा तयार भएको हो।

साइबर अपराधमा एआईले फिसिङ, कमजोरी पहिचान, आक्रमणको योजना र स्वचालनलाई तीव्र बनाइरहेको छ।

२०२६ मा हगिङ फेसमाथिको घटनामा एआई अभिकर्ताले साइबर सुरक्षा परीक्षणका क्रममा निर्धारित सीमाभन्दा बाहिर गएर प्रणालीमा प्रवेश गर्ने, प्रमाण लुकाउने र गतिविधिका अभिलेख परिवर्तन गर्ने प्रयास गरेको रिपोर्ट आयो।

त्यसअघि ओपनएआईका एआई अभिकर्ताले रुबीजेम्समाथि सयौँ हानिकारक प्याकेज पठाएको घटना पनि सार्वजनिक भयो, यद्यपि रुबीजेम्सले सफल घुसपैठको प्रमाण नभेटिएको जनाएको थियो।

युद्धमा जोखिम अझ स्पष्ट छ। एन्थ्रोपिकले यमनमा हूथीसम्बद्ध प्रयोगकर्ताले आफ्नो एआईबाट अतिध्वनिक क्षेप्यास्त्र र निर्देशित युद्धशीर्षसम्बन्धी जानकारी खोजेको तथा असफल रकेट परीक्षणपछि थप प्रश्न गरेको जनाएको छ; प्रत्यक्ष हतियार सफलतापूर्वक बनाएको प्रमाण भने भेटिएको छैन।

साइबर जासुसीमा पनि एआईको प्रयोग बढेको छ। एन्थ्रोपिकले चिनियाँ राज्यसमर्थित समूहले आफ्नो एआईलाई लक्ष्य पहिचान, कमजोरी खोजी र आक्रमणका विभिन्न चरणमा प्रयोग गरेको दाबी गरेको छ।

कुनै व्यक्तिको आवाज केही क्षणमै नक्कल गरेर आफन्तसँग पैसा माग्न सकिन्छ। कुनै नेताको अनुहार र आवाज मिलाएर उनले कहिल्यै नबोलेको कुरा बोलेको जस्तो देखाउन सकिन्छ।

कुनै कम्पनीका कर्मचारीलाई लक्षित गरी उनीहरूले चिनेको व्यक्ति, कार्यालय वा कारोबारसँग मिल्ने विवरणसहित ठगीको प्रयास गर्न सकिन्छ।

पहिले धेरै समय, मानिस र सीप चाहिने साइबर आक्रमणका केही चरण पनि स्वचालित बनाउन सकिन्छ।

गलत सूचना उत्पादन गर्ने र फैलाउने लागत घटेपछि एउटै झुट हजारौं मानिससम्म पुग्न पहिलेभन्दा सजिलो हुन्छ। यसको सबैभन्दा खतरनाक पक्ष झुटको मात्रा मात्र होइन, झुटलाई विश्वासयोग्य बनाउने क्षमता हो।

पहिले नक्कली सामग्री चिन्न मानिसले केही संकेत खोज्न सक्थे–आवाज अस्वाभाविक हुनु, तस्वीर बिग्रिएको देखिनु वा भाषामा त्रुटि हुनु। अब त्यस्ता संकेत क्रमशः कमजोर हुँदैछन्।

प्रविधिले आवाज, तस्वीर, भिडियो र लेखाइलाई यति स्वाभाविक बनाउन थालेको छ कि सत्य र नक्कली छुट्याउने काम स्वयं महँगो र कठिन बन्दै गएको छ।

यसको आर्थिक असर पनि सानो हुँदैन। विश्वास कमजोर भएपछि कारोबारको लागत बढ्छ, प्रमाणित गर्ने समय बढ्छ र संस्थाले सुरक्षामा थप खर्च गर्नुपर्छ।

एआई सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनहरूले एआईबाट बनाइएका सामग्री ठगी, भ्रम फैलाउने गतिविधि र साइबर आक्रमणमा प्रयोग भएको प्रमाण औंल्याएका छन्। त्यस्तै, केही प्रणालीले मानिसले अपेक्षा नगरेको व्यवहार देखाउन सक्ने जोखिम पनि देखिएको छ।

यसको अर्थ जोखिम अब प्रयोगशालाको काल्पनिक विषय मात्र होइन; प्रविधि प्रयोग हुने वास्तविक संसारमै त्यसका प्रारम्भिक रूप देखिन थालेका छन्।

अझ संवेदनशील प्रश्न जैविक र रासायनिक क्षेत्रमा छ। वैज्ञानिक ज्ञान आफैंमा खराब होइन। बरु एआईले अनुसन्धानकर्तालाई जटिल वैज्ञानिक सामग्री बुझ्न, सम्भावित औषधि खोज्न र अनुसन्धानको गति बढाउन सहयोग गर्न सक्छ।

समस्या त्यहाँ सुरु हुन्छ, जहाँ त्यही क्षमताको दुरुपयोग हुन सक्छ।

कुनै ज्ञान प्राप्त गर्न पहिले विशेषज्ञता, समय र ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा एआईले जानकारीसम्मको पहुँच सजिलो बनाइदिएमा सुरक्षा र दुरुपयोगबीचको दूरी घट्न सक्छ।

समाजले प्रविधिको लाभ चाहन्छ, तर त्यसको जोखिमबाट पनि जोगिनुपर्छ। धेरै नियन्त्रणले अनुसन्धान र नवप्रवर्तन सुस्त बनाउन सक्छ; धेरै खुलापनले दुरुपयोगको ढोका खोल्न सक्छ।

सरकार, प्रविधि कम्पनी र अनुसन्धान संस्थाबीचको चुनौती यही सीमारेखा कहाँ कोर्ने भन्ने हो।

एआईको शक्ति बढ्दै जाँदा त्यसलाई प्रयोग गर्ने मानिसको क्षमता मात्र बढ्दैन, गलत नियत भएको मानिसको पहुँच पनि बढ्न सक्छ।

त्यसैले भविष्यको एआई सुरक्षा केवल मेसिन कति बुद्धिमान छ भन्ने प्रश्न होइन। कसले त्यसलाई प्रयोग गर्न सक्छ, उसलाई कति अधिकार हुन्छ र गलत प्रयोग भए कसले जिम्मेवारी लिन्छ जस्ता अनेकौं अनुतरित प्रश्न छन्।

एआईले संसारलाई सुरक्षित पनि बनाउन सक्छ र असुरक्षित पनि। फरक प्रविधिमा होइन, त्यसको पहुँच, नियन्त्रण र प्रयोगको नियममा हुनेछ।

रोजगारीको भविष्य कहाँ छ?

एआईको बहसमा सबैभन्दा धेरै मानिसलाई छुने प्रश्न प्रविधिको क्षमता होइन, आफ्नो रोजगारी हो।

मेसिन कति बुद्धिमान बन्छ भन्नेभन्दा त्यो बुद्धिमत्ताले मेरो कामलाई के गर्छ? के एआईले मानिसको जागिर खोस्छ?

यसको उत्तर न पूर्ण रूपमा हो, न पूर्ण रूपमा होइन। तर एउटा कुरा निश्चित छ–एआईले कामको स्वरूप बदल्दैछ, र त्यो परिवर्तनलाई बेवास्ता गर्ने श्रम बजार अब सम्भव छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वभर करिब ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुन सक्छन्। विकसित अर्थतन्त्रमा यो हिस्सा अझ ठूलो हुन सक्छ।

तर ‘प्रभावित’ हुनुको अर्थ ‘रोजगारी समाप्त हुनु’ होइन। केही काम मेसिनले प्रत्यक्ष गर्न सक्छ, केही काममा मानिससँगै काम गरेर उत्पादकत्व बढाउन सक्छ र केही काममा मानिसको भूमिका नै नयाँ रूपमा परिभाषित हुन सक्छ।

यही भिन्नता बुझ्नु आवश्यक छ।

औद्योगिक क्रान्तिले मानिसको शारीरिक श्रमलाई मेसिनसँग प्रतिस्पर्धामा ल्यायो। एआईले भने मानिसको बौद्धिक श्रमलाई चुनौती दिइरहेको छ।

लेख्ने, अनुवाद गर्ने, हिसाब गर्ने, अनुसन्धान गर्ने, चित्र बनाउने, कोड लेख्ने, ग्राहकसँग संवाद गर्ने र तथ्यको विश्लेषण गर्ने जस्ता काम अब केवल मानिसको विशेषाधिकार रहेनन्।

स्ट्यानफोर्ड विश्वविद्यालयको २०२६ को एआईसम्बन्धी अध्ययनले श्रम बजारमा त्यसको प्रभाव देखिन थालेका संकेतहरू औंल्याएको छ। विशेषगरी युवा सफ्टवेयर विकासकर्ताको रोजगारीमा देखिएका परिवर्तनले नयाँ प्रविधिले अनुभवको प्रारम्भिक तहमा पर्ने दबाबबारे प्रश्न उठाएको छ।

तर समग्र श्रम बजारमा एआईका कारण व्यापक बेरोजगारी सुरु भइसकेको निष्कर्ष निकाल्ने पर्याप्त प्रमाण अझै छैन।

यसको अर्थ खतरा ‘भोलि सबैको जागिर जानेछ’ भन्ने सरल कथामा छैन। वास्तविक परिवर्तन सूक्ष्म छ।

एउटा पत्रकारले पहिले दुई दिन लगाएर गर्ने तथ्य खोज, दस्तावेज अध्ययन र प्रारम्भिक विश्लेषण केही घण्टामै गर्न सक्छ।

एउटा सानो कम्पनीले पहिले ठूलो कार्यालय र धेरै कर्मचारी आवश्यक पर्ने लेखा, ग्राहक सेवा, अनुसन्धान वा प्रशासनिक काम थोरै मानिसबाट सञ्चालन गर्न सक्छ।

एउटा शिक्षकले एउटै कक्षाका सबै विद्यार्थीलाई एउटै अभ्यास गराउनुको सट्टा उनीहरूको क्षमता र कमजोरीअनुसार फरक अभ्यास तयार गर्न सक्छ।

चिकित्सकले ठूलो मात्रामा स्वास्थ्यसम्बन्धी तथ्य छिटो विश्लेषण गर्न सक्छ। किसानले मौसम, माटो, उत्पादन र बजारको सूचना एकै ठाउँमा राखेर खेतीसम्बन्धी निर्णय गर्न सक्छ।

यदि यही भयो भने एआईले केवल केही रोजगारी विस्थापित गर्ने छैन; एउटै काम गर्न आवश्यक मानिसको संख्या पनि घटाउन सक्छ।

यही ठाउँमा अर्थतन्त्रको कठिन प्रश्न सुरु हुन्छ। एउटा कम्पनीलाई पहिले दस जना कर्मचारी चाहिन्थे र एआईपछि पाँच जना पर्याप्त भए भने बाँकी पाँच जनाको भविष्य के हुन्छ?

उनीहरूले नयाँ काम पाउन सक्छन्। कम्पनी विस्तार भएर नयाँ रोजगारी पनि सिर्जना हुन सक्छ। नयाँ उद्योग जन्मिन सक्छन्।

तर त्यस्तो परिवर्तन तत्काल, समान र सबैका लागि सहज हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

गम्भीर समस्या प्रवेश तहको रोजगारीमा देखिन सक्छ। धेरै पेशामा मानिसले आफ्नो करिअरको सुरुवात दोहोरिने, सामान्य र तुलनात्मक रूपमा कम जटिल कामबाट गर्छ। त्यही काम गर्दै उसले अनुभव, निर्णय क्षमता र व्यावसायिक ज्ञान सिक्छ।

यदि त्यही पहिलो खुड्किलो मेसिनले ओगट्यो भने मानिस वरिष्ठ बन्न आवश्यक अनुभव कहाँबाट प्राप्त गर्ने?

भोलिको कम्पनीमा अनुभवी कर्मचारी चाहिन्छ। तर अनुभवी कर्मचारी बन्ने बाटो नै साँघुरो भयो भने श्रम बजारमा एउटा अनौठो विरोधाभास पैदा हुन सक्छ–कम्पनीलाई दक्ष मानिस चाहिनेछ, तर दक्ष मानिस बन्ने अवसर कम हुँदै जानेछ।

एआईको युगमा शिक्षा र सीपको प्रश्न रोजगारीभन्दा पनि ठूलो हुन सक्छ। विश्वविद्यालयले चार वर्षअघि सिकेको ज्ञानले चार वर्षपछि पनि उही मूल्य राख्छ कि राख्दैन भन्ने प्रश्न उठ्नेछ।

प्रमाणपत्रभन्दा समस्या समाधान गर्ने क्षमता, नयाँ कुरा सिक्ने गति र मेसिनसँग मिलेर काम गर्ने क्षमता महत्वपूर्ण बन्न सक्छ।

अन्ततः एआईले मानिसको काम समाप्त गर्नेभन्दा पनि मानिस र कामबीचको पुरानो सम्बन्ध तोड्ने सम्भावना बढी छ।

केही काम हराउनेछन्, केही नयाँ काम जन्मिनेछन् र धेरै कामको प्रकृति बदलिनेछ।

त्यसैले भविष्यको प्रश्न ‘एआईले कति रोजगारी खोस्छ?’ मात्र होइन। प्रश्न हो–एआईले रोजगारीबाट विस्थापित हुने मानिसलाई नयाँ अर्थतन्त्रमा प्रवेश गर्ने बाटो कति छिटो दिन्छ?

प्रविधिले उत्पादकत्व बढाउन सक्छ। तर उत्पादकत्वको लाभ कसले पाउँछ भन्ने कुरा प्रविधिले होइन, अर्थतन्त्र, शिक्षा, नीति र समाजले निर्धारण गर्नेछ।

एआईले अर्थतन्त्रलाई कति बदल्छ?

एआईको पक्षमा सबैभन्दा बलियो आर्थिक तर्क यसको बुद्धिमत्ता होइन, उत्पादकत्व हो।

एउटै मानिसले कम समयमा बढी काम गर्न सक्यो भने अर्थतन्त्रले कम स्रोतबाट बढी उत्पादन गर्न सक्छ। यही साधारण देखिने परिवर्तनले अन्ततः कम्पनीको लागत, उपभोक्ताको मूल्य, लगानीको आकार र रोजगारीको संरचनासम्म बदल्न सक्छ।

स्ट्यानफोर्ड विश्वविद्यालयको अध्ययनले विभिन्न क्षेत्रमा एआईको प्रयोगबाट उत्पादकत्वमा सुधार आएको प्रमाण प्रस्तुत गरेको छ। ग्राहक सेवा, सफ्टवेयर विकास र सामग्री उत्पादनजस्ता क्षेत्रमा केही अध्ययनले उल्लेखनीय लाभ देखाएका छन्।

तर यो लाभ सबै काममा समान छैन। सामान्य र दोहोरिने काममा एआईले ठूलो सहयोग गर्न सक्ने भए पनि जटिल निर्णय, गहिरो विशेषज्ञता र परिस्थितिअनुसार विवेक आवश्यक पर्ने काममा यसको प्रभाव फरक देखिन्छ।

अर्थतन्त्रको पुरानो नियम यहाँ फेरि लागू हुन्छ। उत्पादनको लागत घट्यो भने कम्पनीले कम मूल्यमा वस्तु तथा सेवा बेच्न सक्छ।

मूल्य घटेपछि माग बढ्न सक्छ। माग बढेपछि उत्पादन र लगानी बढ्न सक्छ। नयाँ बजार खुल्न सक्छन्। नयाँ व्यवसाय जन्मिन सक्छन्। र ती व्यवसायले नयाँ रोजगारी सिर्जना गर्न सक्छन्।

तर यो प्रक्रिया स्वचालित वा सुनिश्चित छैन।

लागत घटेको लाभ कम्पनीले बढी नाफाका रूपमा राख्न सक्छ, उपभोक्ताले कम मूल्यका रूपमा पाउन सक्छ वा प्रतिस्पर्धाका कारण दुवैबीच बाँडिन सक्छ।

एआईबाट सिर्जित आर्थिक लाभ कसले पाउँछ भन्ने कुरा बजारको संरचना, प्रतिस्पर्धा, श्रमको शक्ति र सरकारको नीतिले निर्धारण गर्नेछ।

यही कारण एआईलाई केवल रोजगारी घटाउने प्रविधिका रूपमा हेर्नु अधुरो हुन्छ। यसले अर्थतन्त्रको उत्पादन गर्ने क्षमता नै बढाउन सक्छ।

एउटा सानो कम्पनीले पहिले ठूलो कम्पनीलाई आवश्यक पर्ने अनुसन्धान, लेखा, ग्राहक सेवा वा प्रचारका केही काम निकै कम जनशक्तिबाट गर्न सक्छ। यसले प्रवेशको लागत घटाउन सक्छ र नयाँ व्यवसायलाई बजारमा प्रवेश गर्न सजिलो बनाउन सक्छ।

तर यसको अर्को पाटो पनि छ। यदि एउटै प्रविधि सबै कम्पनीले प्रयोग गर्न थाले भने प्रतिस्पर्धाको लाभ केही समयमै सामान्य बन्न सक्छ।

त्यसपछि वास्तविक लाभ प्रविधि किन्ने कम्पनीलाई होइन, उत्कृष्ट तथ्य, दक्ष कर्मचारी, ठूलो पूँजी र बलियो बजार पहुँच भएका कम्पनीलाई बढी जान सक्छ।

एआईले प्रतिस्पर्धा बढाउन पनि सक्छ र बजार शक्ति केही ठूला कम्पनीमा केन्द्रित पनि गर्न सक्छ।

एआईको विशेषता यसको व्यापकता र गति हो। औद्योगिक क्रान्तिको मेसिन मुख्यतः शारीरिक श्रमलाई बदल्न कारखानामा प्रवेश गरेको थियो। विद्युतीकरणले उत्पादन र यातायातको स्वरूप बदलेको थियो। कम्प्युटरले गणना र सूचना प्रशोधनको लागत घटायो।

एआई भने लेखन, लेखा, कानुन, अनुसन्धान, डिजाइन, शिक्षा, सफ्टवेयर, सञ्चार, बैंकिङ र कार्यालयका ज्ञानमा आधारित कामसम्म एकैपटक प्रवेश गरिरहेको छ।

त्यसैले यसपटकको परिवर्तनलाई एउटा उद्योगको परिवर्तन भनेर बुझ्न कठिन छ। एआई कुनै एउटा क्षेत्रको प्रविधि होइन; यो धेरै क्षेत्रको उत्पादन प्रक्रियामा मिसिन सक्ने सामान्य प्रयोजनको प्रविधि बन्ने दिशामा छ।

यदि यसको उत्पादकत्व लाभ व्यापक भयो भने आर्थिक वृद्धिको गति बढ्न सक्छ। तर लाभ केही कम्पनी, उच्च दक्ष जनशक्ति वा केही देशमा मात्र केन्द्रित भयो भने असमानता पनि बढ्न सक्छ।

त्यसैले एआईको आर्थिक प्रश्न ‘यसले कति काम गर्न सक्छ?’ मा मात्र सीमित छैन। यसले सिर्जना गर्ने अतिरिक्त सम्पत्ति कसले पाउँछ, र त्यसबाट बाहिरिने मानिसलाई अर्थतन्त्रले कहाँ समेट्छ?

एआईको निर्णायक इन्धन

एआईको भविष्य चिप, तथ्यांक र गणनाशक्तिमा मात्र निर्भर छैन। त्यसको पछाडि अर्को कम चर्चित तर उत्तिकै निर्णायक स्रोत छ–बिजुली।

एआई प्रणालीलाई तालिम दिन र सञ्चालन गर्न विशाल गणनाशक्ति चाहिन्छ। त्यसका लागि संसारभर तथ्यांक केन्द्र निर्माण भइरहेका छन्।

यी केन्द्रमा हजारौं, कतिपय अवस्थामा लाखौं, शक्तिशाली गणनायन्त्र निरन्तर चल्छन्। तिनलाई चिसो राख्न पनि ऊर्जा चाहिन्छ।

त्यसैले एआईको विस्तारले प्रविधि उद्योगको माग मात्र बढाइरहेको छैन; विद्युत् प्रणालीमाथि पनि नयाँ दबाब सिर्जना गरिरहेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार २०२४ मा विश्वका तथ्यांक केन्द्रहरूले करिब ४१५ टेरावाट–घण्टा बिजुली खपत गरेका थिए–विश्वको कुल विद्युत् खपतको करिब १.५ प्रतिशत।

तर २०३० सम्म यो खपत झन्डै दोब्बर भएर ९५० टेरावाट–घण्टा पुग्ने अनुमान छ। यो आज जापानले एक वर्षमा खपत गर्ने कुल बिजुलीभन्दा केही बढी हो।

यो वृद्धि सामान्य डिजिटल सेवाको विस्तार मात्र होइन। एआई यसको मुख्य चालक बन्दै गएको छ।

एआईमा केन्द्रित तथ्यांक केन्द्रमा प्रयोग हुने तीव्र गणनायन्त्रको विद्युत् खपत समग्र तथ्यांक केन्द्रको भन्दा धेरै छिटो बढ्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायको आधारभूत प्रक्षेपणमा यस्ता तीव्र गणनायन्त्रको विद्युत् खपत २०२४ देखि २०३० सम्म औसत करिब ३० प्रतिशत वार्षिक दरले बढ्न सक्छ।

यसले एउटा असहज आर्थिक तथ्य देखाउँछ। एआईलाई ‘बादलमा चल्ने’ प्रविधि भनेर बुझ्न सजिलो छ, तर त्यो बादल वास्तवमा जमिनमा रहेका विशाल भवन, कम्प्युटर, शीतलीकरण प्रणाली, प्रसारण लाइन र विद्युत् गृहमा टिकेको हुन्छ।

अझ महत्वपूर्ण कुरा यसको भौगोलिक एकाग्रता हो। विश्वभर तथ्यांक केन्द्रको माग बढे पनि यसको ठूलो हिस्सा केही प्रमुख अर्थतन्त्रमा केन्द्रित छ।

२०२४ मा संयुक्त राज्य अमेरिकाले विश्वको तथ्यांक केन्द्र विद्युत् खपतको करिब ४५ प्रतिशत, चीनले २५ प्रतिशत र युरोपले १५ प्रतिशत हिस्सा ओगटेका थिए।

२०३० सम्मको वृद्धिमा अमेरिका र चीनले मात्र विश्वव्यापी वृद्धिको झन्डै ८० प्रतिशत हिस्सा ओगट्ने अन्तर्राष्ट्रिय ऊर्जा निकायको अनुमान छ।

संयुक्त राज्य अमेरिकामा यसको प्रभाव अझ असाधारण हुन सक्छ। २०३० सम्म त्यहाँ तथ्यांक केन्द्रले विद्युत् मागमा हुने वृद्धिको करिब आधा हिस्सा ओगट्न सक्ने अनुमान छ।

अर्थात् एआईको विस्तार एउटा प्रविधि कम्पनीको विषयबाट राष्ट्रिय विद्युत् नीतिको विषयमा प्रवेश गरिरहेको छ।

यसले एआईको दौडको अर्थ नै बदलिदिन्छ।

पहिले प्रतिस्पर्धा राम्रो चिप कसले बनाउँछ, ठूलो प्रणाली कसले विकास गर्छ र उत्कृष्ट अनुसन्धानकर्ता कसले आकर्षित गर्छ भन्नेमा केन्द्रित थियो।

अब त्यसमा अर्को प्रश्न थपिएको छ–त्यो प्रणाली चलाउन आवश्यक बिजुली कसले उपलब्ध गराउँछ?

एआईको गणनाशक्ति बढ्दै जाँदा विद्युत् उत्पादन मात्र पर्याप्त हुँदैन। नयाँ विद्युत् गृह बनाउन वर्षौं लाग्न सक्छ। प्रसारण लाइन निर्माणमा अझ लामो समय लाग्न सक्छ। तथ्यांक केन्द्र भने तुलनात्मक रूपमा छिटो निर्माण हुन सक्छन्।

यही असमान गतिले भविष्यमा एउटा नयाँ अवरोध जन्माउन सक्छ–कम्प्युटर तयार छ, तर बिजुली छैन।

त्यसैले एआईको पूर्वाधार अब तथ्यांक केन्द्रको भवनबाट मात्र सुरु हुँदैन। त्यसको सुरुवात विद्युत् गृहबाट हुन सक्छ र प्रसारण सञ्जाल हुँदै गणनायन्त्रसम्म पुग्छ।

भूमि, पानी, शीतलीकरण, सञ्चार सञ्जाल, विद्युत् भण्डारण र पूँजी सबै यसको हिस्सा बन्छन्।

ऊर्जाको स्रोतबारे पनि नयाँ प्रतिस्पर्धा सुरु भएको छ। अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार २०३० सम्म तथ्यांक केन्द्रका लागि आवश्यक अतिरिक्त विद्युत्मध्ये करिब आधा हिस्सा नवीकरणीय ऊर्जाबाट आउन सक्छ।

प्राकृतिक ग्यासले पनि ठूलो भूमिका खेल्नेछ, जबकि आणविक ऊर्जा क्रमशः महत्वपूर्ण बन्दै जानेछ।

२०३० सम्म नवीकरणीय र आणविक ऊर्जाले तथ्यांक केन्द्रले खपत गर्ने विद्युत्को झन्डै ६० प्रतिशत हिस्सा आपूर्ति गर्न सक्ने अनुमान छ।

तर यहाँ एउटा विरोधाभास छ। एआईलाई अधिक दक्ष बनाउने प्रविधिले प्रति गणना आवश्यक ऊर्जा घटाउन सक्छ। तर एआईको प्रयोग यति तीव्र गतिमा बढ्न सक्छ कि दक्षताबाट भएको बचतलाई नयाँ मागले फेरि समाप्त गर्न सक्छ।

राम्रो र सस्तो एआईले मानिसलाई अझ धेरै एआई प्रयोग गर्न प्रेरित गर्न सक्छ। यसलाई अर्थशास्त्रमा प्रविधिको दक्षताले नै थप माग सिर्जना गर्ने पुरानो विरोधाभासका रूपमा बुझ्न सकिन्छ।

विश्वव्यापी स्तरमा भने तथ्यांक केन्द्रको वृद्धि अझै सम्पूर्ण विद्युत् मागको सबैभन्दा ठूलो चालक होइन।

अन्तर्राष्ट्रिय ऊर्जा निकायको आधारभूत अनुमानमा २०३० सम्म तथ्यांक केन्द्रले विश्वव्यापी विद्युत् माग वृद्धिको करिब एक दशांश हिस्सा मात्र ओगट्नेछ। उद्योग, विद्युतीय सवारी, घर तथा कार्यालयको शीतलीकरण र अन्य विद्युतीकरणले अझ ठूलो भूमिका खेल्नेछन्।

तर औसत विश्वव्यापी तथ्यांकले स्थानीय दबाब लुकाउन सक्छ। एउटा देशको कुल विद्युत् खपतमा तथ्यांक केन्द्रको हिस्सा सानो भए पनि एउटा क्षेत्रमा केही विशाल केन्द्र एकैपटक बने भने स्थानीय प्रसारण प्रणालीमाथि असाधारण दबाब पर्न सक्छ।

यही कारण एआईको ऊर्जा समस्या विश्वव्यापी मात्र होइन, भौगोलिक पनि हो।

यसको अर्थ एआईको भविष्य अब प्रविधि मन्त्रालयको मात्र विषय रहेन। यो ऊर्जा मन्त्रालयको पनि विषय हो। औद्योगिक नीतिको पनि विषय हो। जलवायु नीतिको पनि विषय हो। राष्ट्रिय सुरक्षाको पनि विषय हो।

एआईले विश्वलाई अझ डिजिटल बनाउनेछ। तर त्यस डिजिटल संसारको भौतिक आधार अत्यन्त पुरानो छ–बिजुली, प्रसारण लाइन, भूमि र पानी।

भविष्यको एआई महाशक्ति त्यो मात्र नहुन सक्छ जसले सबैभन्दा बुद्धिमान मेसिन बनाउँछ। त्यो देश पनि हुन सक्छ जसले ती मेसिनलाई चौबीसै घण्टा चलाउन सक्ने सस्तो, भरपर्दो र पर्याप्त ऊर्जा जुटाउन सक्छ।

पैसाको दौड र वित्तीय जोखिम

एआईको दौडमा अहिले सबैभन्दा तीव्र गतिमा बढिरहेको कुरा केवल गणनाशक्ति होइन, पैसा पनि हो।

२०२५ मा विश्वव्यापी एआई लगानी एकै वर्षमा १३० प्रतिशतले बढेर करिब ५८१.७ अर्ब अमेरिकी डलर पुगेको स्ट्यानफोर्ड विश्वविद्यालयको एआई सूचकांकले देखाएको छ।

निजी एआई लगानी मात्रै १२७.५ प्रतिशतले बढेर ३४४.७ अर्ब डलर पुगेको थियो। नयाँ लगानी पाएका एआई कम्पनीको संख्या ७१ प्रतिशतले बढ्यो र अर्बौं डलरका ठूला लगानी सम्झौता पनि झन्डै दोब्बर भए।

यी तथ्यांकले लगानीकर्ताले एआईलाई अर्को ठूलो आर्थिक परिवर्तनको आधार मानेका छन्। तर ठूलो लगानी आफैंमा ठूलो प्रतिफलको प्रमाण होइन। यहीँबाट एआईको अर्को जोखिम सुरु हुन्छ।

सेप्टेम्बर २०२६ मा अन्तर्राष्ट्रिय बसोबास बैंकले एआईको तीव्र विस्तारले विश्व वित्तीय स्थिरतामा नयाँ जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिएको छ।

बैंकका अनुसार विश्वका पाँच ठूला प्रविधि कम्पनीले २०२५ र २०२६ मा एआईमा एक ट्रिलियन डलरभन्दा बढी लगानी गर्नेछन्। उद्योगका अनुमानअनुसार विश्वव्यापी एआई लगानी २०३० सम्म चार ट्रिलियन डलर पुग्न सक्छ।

अन्तर्राष्ट्रिय बसोबास बैंकका प्रमुख पाब्लो हर्नान्डेज दे कोसले भनेका छन्, “एआईको सम्भावना वास्तविक छ।”

तर उनले त्यसको दीर्घकालीन प्रभाव नीति, सीप र पूर्वाधारमा हुने लगानी तथा त्यसबाट प्राप्त हुने लाभ कति व्यापक रूपमा बाँडिन्छ भन्नेमा निर्भर रहने बताएका छन्।

समस्या सम्भावनामा होइन। समस्या मूल्यांकन र वित्तपोषणबीचको दूरीमा हुन सक्छ।

एआई कम्पनीको भविष्य ठूलो देखिन्छ भनेर त्यसको मूल्य पनि ठूलो हुन सक्छ। कम्पनीको मूल्य बढेपछि थप पूँजी आउँछ। थप पूँजीले थप तथ्यांक केन्द्र, चिप, कर्मचारी र अनुसन्धानमा खर्च हुन्छ।

त्यसले फेरि भविष्यको ठूलो आम्दानीको अपेक्षा बढाउँछ। यसरी प्रविधिको वास्तविक प्रगति र लगानीकर्ताको अपेक्षा एकअर्कालाई धकेल्दै माथि जान सक्छन्।

अपेक्षा आम्दानीभन्दा छिटो बढ्यो भने समस्या सुरु हुन्छ। अन्तर्राष्ट्रिय बसोबास बैंकले विशेषगरी एआई पूर्वाधारमा बढ्दो ऋण, अपारदर्शी वित्तीय संरचना र बजारको एकाग्रताप्रति चिन्ता व्यक्त गरेको छ।

२०२५ सम्म एआईसँग सम्बन्धित निजी प्रविधि कम्पनीहरूको ऋण एक ट्रिलियन डलरभन्दा माथि पुगेको बैंकको विश्लेषण छ।

यसको अर्थ एआईको लगानीको ठूलो हिस्सा केवल लगानीकर्ताको आफ्नै पैसाबाट चलिरहेको छैन। ऋण पनि बढिरहेको छ।

जबसम्म कम्पनीको आम्दानी र नगद प्रवाहले त्यस ऋणलाई धान्छ, समस्या हुँदैन। तर यदि एआईबाट अपेक्षित आम्दानी ढिला भयो, मूल्यांकन घट्यो वा लगानीकर्ताको विश्वास अचानक कमजोर भयो भने ऋणले नाफा घटाउने मात्र होइन, घाटालाई पनि तीव्र बनाउन सक्छ।

यही कारण एआईको सम्भावित संकटलाई ‘प्रविधि असफल भयो’ भनेर बुझ्नु गलत हुनेछ। प्रविधि उत्कृष्ट हुन सक्छ। त्यसको प्रयोग पनि व्यापक हुन सक्छ। तर त्यसमा गरिएको प्रत्येक लगानी सफल हुनैपर्छ भन्ने छैन।

रेलमार्गको विस्तारले उन्नाइसौँ शताब्दीको अर्थतन्त्र बदल्यो। तर रेलमार्गमा लगानी गर्ने हरेक कम्पनी सफल भएन।

इन्टरनेटले विश्व अर्थतन्त्र बदल्यो। तर इन्टरनेटको प्रारम्भिक उन्मादमा लगानी गरिएका सबै कम्पनी टिकेनन्।

केही प्रविधि असफल भएकाले होइन, तिनको मूल्य भविष्यको वास्तविक आम्दानीभन्दा धेरै माथि पुगेकाले। एआईमा पनि त्यस्तै हुन सक्छ।

अन्तर्राष्ट्रिय बसोबास बैंकका विश्लेषकहरूले अहिलेको एआई लगानी उछाललाई रेलमार्ग र इन्टरनेटको प्रारम्भिक लगानी उछालसँग तुलना गरेका छन्।

फरक यति हो कि यसपटक यसको प्रभाव प्रविधि कम्पनीको शेयर बजारमा मात्र सीमित छैन। एआईले चिप, ऊर्जा, तथ्यांक केन्द्र, ऋण बजार, शेयर बजार र विश्वका ठूला प्रविधि कम्पनीको मूल्यांकनलाई एउटै लगानी चक्रमा जोडिरहेको छ।

यही कारण जोखिमको आकार पनि ठूलो हुन सक्छ। यदि एआईबाट उत्पादकत्व अपेक्षितभन्दा छिटो बढ्यो भने आजको ठूलो लगानी भविष्यको आर्थिक वृद्धिको आधार बन्न सक्छ।

तर यदि आम्दानी, उत्पादकत्व र वास्तविक प्रयोग लगानीकर्ताको अपेक्षाभन्दा निकै पछाडि रह्यो भने यही पूँजीको उछाल बजार सुधारको कारण बन्न सक्छ।

बेलायतका केन्द्रीय बैंकका गभर्नर एन्ड्र्यु बेलीले सेप्टेम्बरमा एआई क्षेत्रमा हुने सम्भावित तीव्र गिरावटले विश्वव्यापी आर्थिक मन्दीलाई समेत बढावा दिन सक्ने चेतावनी दिएका छन्।

उच्च मूल्यांकन, बढ्दो ऋण र थोरै ठूला प्रविधि कम्पनीमा पूँजीको अत्यधिक एकाग्रताले भविष्यको बजार सुधारलाई अझ ठूलो बनाउन सक्ने उनको तर्क छ।

यसैले एआईबारे दुईवटा कुरा एकैपटक सत्य हुन सक्छन्। एआई वास्तविक आर्थिक क्रान्तिको आधार हुन सक्छ। र एआईसँग जोडिएको लगानीको केही हिस्सा वास्तविकताभन्दा अगाडि दौडिरहेको हुन सक्छ।

यी दुई कुरा परस्पर विरोधी होइनन्। डटकम युगको सबैभन्दा ठूलो पाठ पनि यही थियो। इन्टरनेट गलत थिएन। त्यसबेलाका सबै मूल्यांकन सही थिएनन्।

एआई पनि फरक नहुन सक्छ। भोलिको एआई अर्थतन्त्र आजको तुलनामा कैयौं गुणा ठूलो हुन सक्छ। तर त्यसको अर्थ आज एआईको नाममा लगानी गरिएको प्रत्येक डलरले त्यति नै प्रतिफल दिनेछ भन्ने होइन।

अन्ततः बजारले एउटा कठिन प्रश्न सोध्नेछ–एआईले कति गर्न सक्छ भन्ने होइन, त्यसले कति कमाउन सक्छ? र त्यस प्रश्नको उत्तर प्रविधिको प्रयोगशालामा होइन, कम्पनीको आम्दानी, उत्पादकत्व र वास्तविक अर्थतन्त्रमा खोजिनेछ।

चीन, अमेरिका र नयाँ शक्ति सन्तुलन

एआईको भविष्य बुझ्न अमेरिका र चीनलाई अलग-अलग हेर्न अब सम्भव छैन। एआईको दौड क्रमशः दुई ठूला आर्थिक र सामरिक शक्तिबीचको प्रतिस्पर्धामा बदलिँदैछ। तर यो पुरानो शैलीको हतियार दौड मात्र होइन।

यसमा चिप, तथ्यांक, प्रतिभा, पूँजी, ऊर्जा, उद्योग, विश्वविद्यालय, खुला प्रविधि र सैन्य क्षमता सबै एकैपटक जोडिएका छन्।

अमेरिका अझै धेरै मोर्चामा अगाडि छ। २०२५ मा अमेरिकी निजी एआई लगानी २८५.९ अर्ब डलर पुगेको थियो, जुन चीनको १२.४ अर्ब डलरभन्दा २३ गुणाभन्दा बढी हो।

अमेरिकाले त्यही वर्ष १,९५३ नयाँ एआई कम्पनीलाई लगानी आकर्षित गरायो। विश्वका सबैभन्दा ठूला एआई कम्पनी, विशाल तथ्यांक केन्द्र र अत्याधुनिक प्रणाली विकास गर्ने धेरै संस्था पनि अमेरिकामै केन्द्रित छन्।

तर पैसाले मात्र प्रतिस्पर्धा जितिँदैन। चीनले अनुसन्धान, औद्योगिक प्रयोग, खुला प्रविधि, सरकारी लगानी र विशाल घरेलु बजारलाई एउटै रणनीतिमा जोडिरहेको छ।

स्ट्यानफोर्डको २०२६ को एआई सूचकांकअनुसार चीनले एआईसम्बन्धी अनुसन्धान प्रकाशन, उद्धरण र पेटेन्टमा अमेरिकालाई पछि पारिरहेको छ।

२०२५ मा उल्लेखनीय एआई प्रणाली विकासमा अमेरिका अझै अगाडि रहे पनि अमेरिकी र चिनियाँ प्रणालीबीचको क्षमताको अन्तर मार्च २०२६ सम्म २.७ प्रतिशतमा झरेको थियो।

दुवै देशका प्रणालीले पछिल्ला वर्षमा क्षमताको शीर्ष स्थान एकअर्काबाट खोस्दै आएका छन्।

यसको अर्थ एआईमा अमेरिकी अग्रता समाप्त भइसकेको होइन। बरु त्यसको प्रकृति बदलिएको हो।

अमेरिकाको शक्ति निजी पूँजी, उच्चस्तरीय अनुसन्धान, उद्यमशीलता, विश्वव्यापी प्रतिभा र अत्याधुनिक प्रणाली विकासमा छ।

चीनको शक्ति ठूलो औद्योगिक आधार, सरकारी समन्वय, विशाल बजार, उत्पादन क्षमता र एआईलाई उद्योगमा तीव्र रूपमा प्रयोग गर्ने क्षमतामा छ।

त्यसैले आगामी प्रतिस्पर्धा ‘कसको राम्रो एआई छ?’ भन्ने एउटा प्रश्नमा सीमित रहने छैन। प्रश्न हुनेछ–कसले सस्तोमा, ठूलो मात्रामा र विश्वसनीय रूपमा एआईलाई अर्थतन्त्रमा उतार्न सक्छ?

चीनको अर्को विशेषता औद्योगिक प्रयोग हो। २०२४ मा विश्वभर जडान भएका औद्योगिक रोबोटमध्ये ५४ प्रतिशत चीनमा जडान भएका थिए।

चीनले एआईलाई कारखाना, आपूर्ति शृंखला, विद्युतीय सवारी, रोबोट र अन्य औद्योगिक क्षेत्रमा जोड्दै गएको छ।

यसले अमेरिकी र चिनियाँ मोडलबीचको एउटा महत्वपूर्ण भिन्नता देखाउँछ।

अमेरिका एआईको ‘मस्तिष्क’ विकासमा अत्यन्त बलियो छ भने चीन त्यसलाई विशाल औद्योगिक संरचनामा फैलाउने क्षमतामा बलियो बन्दैछ।

अन्ततः विश्व अर्थतन्त्रमा कसको प्रभाव बढी हुन्छ भन्ने कुरा प्रयोगशालामा बनेको उत्कृष्ट प्रणालीले मात्र निर्धारण गर्ने छैन; त्यो प्रणाली कति कारखाना, कार्यालय, अस्पताल, बैंक र बजारमा पुग्छ भन्नेले पनि निर्धारण गर्नेछ।

यस प्रतिस्पर्धाको तेस्रो पक्ष चिप हो। अत्याधुनिक एआई प्रणालीका लागि आवश्यक उन्नत चिपको उत्पादन विश्वका केही सीमित कम्पनी र स्थानमा निर्भर छ।

स्ट्यानफोर्डका अनुसार अमेरिकामा विश्वकै सबैभन्दा धेरै एआई तथ्यांक केन्द्र छन्, तर ती केन्द्रमा प्रयोग हुने अत्याधुनिक चिपको ठूलो हिस्सा ताइवानस्थित एउटै प्रमुख उत्पादन कम्पनीमा निर्भर छ।

यसले एआईलाई प्रविधिको मात्र होइन, आपूर्ति शृंखला र राष्ट्रिय सुरक्षाको विषय पनि बनाएको छ। त्यसैले अमेरिकाले चिप निर्यात नियन्त्रण, घरेलु उत्पादन र मित्रराष्ट्रसँगको प्रविधिगत सहकार्यलाई रणनीतिक साधन बनाइरहेको छ।

चीनले पनि स्वदेशी चिप क्षमता, खुला प्रणाली र आफ्नै प्रविधि शृंखला निर्माणमा जोड दिइरहेको छ।

एआईमा अब एउटा नयाँ सूत्र देखिन थालेको छ–चिपमा नियन्त्रण भनेको गणनाशक्तिमा नियन्त्रण हो। गणनाशक्तिमा नियन्त्रण भनेको एआई क्षमतामा प्रभाव हो। र एआई क्षमता आर्थिक तथा सैन्य शक्तिसँग जोडिन थालेको छ।

यसैले एआई र राष्ट्रिय सुरक्षाबीचको दूरी पनि घट्दै गएको छ। अत्यधिक सक्षम एआईले साइबर सुरक्षा, सैन्य योजना, गुप्तचर विश्लेषण, स्वायत्त प्रणाली र सूचना युद्धमा प्रभाव पार्न सक्ने भएकाले सरकारहरू यसलाई सामान्य व्यापारिक प्रविधिका रूपमा मात्र हेर्न तयार छैनन्।

तर यहाँ एउटा खतरनाक विरोधाभास छ। यदि अमेरिका र चीन दुवैले एआईलाई रणनीतिक हतियारसरह हेर्न थाले भने प्रतिस्पर्धाले सुरक्षाभन्दा गति प्राथमिकता पाउन सक्छ।

एउटा देशले ‘हामी रोकियौँ भने अर्को देश अघि बढ्छ’ भन्ने डरमा सुरक्षा परीक्षण कमजोर बनाउन सक्छ। अर्को देशले पनि त्यही तर्क गर्न सक्छ।

यसरी सुरक्षाको सामूहिक समस्या प्रतिस्पर्धाको व्यक्तिगत समस्या बन्न सक्छ। यही कारण एआईको भविष्यमा कूटनीतिको भूमिका असाधारण हुनेछ।

परमाणु हतियारको युगमा संसारले अन्ततः हतियार नियन्त्रण, परीक्षण, सञ्चार र जोखिम घटाउने केही साझा नियम निर्माण गर्नुपरेको थियो।

एआईमा पनि त्यस्तै सहमति आवश्यक हुन सक्छ तर चुनौती अझ जटिल छ।

एआई सफ्टवेयर हो, सीमापार फैलिन सक्छ, निजी कम्पनीले विकास गर्छ र यसको क्षमता महिनामै बदलिन सक्छ।

आज अमेरिकी कम्पनीले बनाएको प्रणाली चीनमा प्रयोग हुन सक्छ। चिनियाँ खुला प्रणाली संसारका अन्य देशमा पुग्न सक्छ।

एउटै प्रविधि व्यापार, शिक्षा, चिकित्सा र सैन्य क्षेत्रमा एकैसाथ प्रयोग हुन सक्छ।

त्यसैले एआईलाई देशको सीमाभित्र मात्र नियन्त्रण गर्ने पुरानो सोच पर्याप्त नहुन सक्छ।

यसबीच तेस्रो शक्तिहरू पनि निष्क्रिय छैनन्। युरोपले नियमन र सुरक्षित विकासमा जोड दिइरहेको छ। भारत, मध्यपूर्व र अन्य उदीयमान अर्थतन्त्रले आफ्नै एआई क्षमता विकास गर्न खोजिरहेका छन्।

चीनले समेत विस्तारित ब्रिक्स संरचनाभित्र एआई सहकार्य र खुला प्रणालीको प्रस्ताव अघि बढाइरहेको छ।

यसले विश्वलाई दुई ध्रुवमा मात्र विभाजित नगर्न सक्छ। बरु एआईको नयाँ शक्ति–सन्तुलन बहुध्रुवीय हुन सक्छ–अमेरिकासँग अग्रणी निजी कम्पनी र प्रतिभा, चीनसँग ठूलो औद्योगिक आधार, युरोपसँग नियमन क्षमता, अन्य देशसँग ऊर्जा, बजार, प्रतिभा वा विशेषीकृत प्रविधि।

तर सबैभन्दा ठूलो प्रश्न अझै बाँकी छ। यदि एआईको गति राष्ट्रिय प्रतिस्पर्धाले निर्धारण गर्न थाल्यो भने यसको सुरक्षा कसले निर्धारण गर्ने?

यही कारण एआईको भविष्य वैज्ञानिकको प्रयोगशालामा मात्र लेखिँदैन। त्यो राष्ट्रपतिको कार्यालय, संसद्, कम्पनीको बैठककक्ष र कूटनीतिक वार्ताको टेबलमा पनि लेखिँदैछ।

एआईको दौडमा अन्ततः विजेता त्यो देश मात्र नहुन सक्छ जसले सबैभन्दा शक्तिशाली मेसिन बनायो।

विजेता त्यो हुन सक्छ जसले प्रविधि, पूँजी, ऊर्जा, प्रतिभा, उद्योग र सुरक्षा–यी सबैलाई एउटै रणनीतिमा जोड्न सक्यो।

एआईले विश्वको शक्ति–सन्तुलन बदल्दैछ। अमेरिका तथा चीनबीचको प्रतिस्पर्धा त्यस परिवर्तनको पहिलो ठूलो परीक्षा हो।

नियम बनाउने कि नवप्रवर्तन रोक्ने?

एआईलाई नियमन गर्नुपर्छ भन्नेमा संसारमा सहमति बढिरहेको छ। असहमति भने अर्को प्रश्नमा छ–कति नियमन गर्ने?

एआईलाई पूर्ण स्वतन्त्र छाड्दा त्यसको दुरुपयोग, गोपनीयता उल्लंघन, भेदभाव, गलत सूचना र सुरक्षा जोखिम बढ्न सक्छ।

तर अत्यधिक कडा नियम लगाइयो भने साना कम्पनी, अनुसन्धानकर्ता र नयाँ आविष्कारलाई ठूला कम्पनीभन्दा बढी भार पर्न सक्छ।

प्रविधिको दौडमा ढिलो हुने देशले आर्थिक अवसर गुमाउन सक्छ। त्यसैले एआई नियमनको समस्या सुरक्षा र नवप्रवर्तनबीचको सन्तुलन खोज्नु हो।

युरोपेली संघले जोखिमको तहअनुसार एआईलाई वर्गीकरण गरेर नियमन गर्ने बाटो रोजेको छ। कम जोखिमका प्रयोगमा तुलनात्मक रूपमा हल्का दायित्व र उच्च जोखिम भएका प्रणालीमा कडा पारदर्शिता, निगरानी, तथ्य अभिलेखीकरण र उत्तरदायित्वको व्यवस्था गरिएको छ।

केही अत्यन्त जोखिमपूर्ण प्रयोगलाई निषेध गर्ने व्यवस्था पनि छ। यसको दर्शन सरल छ–एआई जति जोखिमपूर्ण, नियम पनि त्यति कडा।

अमेरिकाको दृष्टिकोण भने एकरूप छैन। त्यहाँ संघीय नीति, क्षेत्रगत नियम र राज्यस्तरीय कानुनबीच फरक देखिन्छ। प्रविधि उद्योगको तीव्र वृद्धि र विश्वव्यापी प्रतिस्पर्धालाई कायम राख्दै जोखिम नियन्त्रण गर्ने दबाब बलियो छ।

यसको फाइदा गति हुन सक्छ; कमजोरी भने एउटै देशभित्र पनि नियमको स्वरूप जटिल बन्न सक्नु हो।

चीनले फरक बाटो रोजेको छ। त्यहाँ एआईलाई बजारको प्रविधि मात्र होइन, राज्यको आर्थिक, औद्योगिक र राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा मानिएको छ।

सामग्रीको नियन्त्रण, एल्गोरिदमको दर्ता, प्रयोगकर्ताको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित आवश्यकतालाई एउटै नियामकीय संरचनामा जोड्ने प्रयास भइरहेको छ।

तीनवटै मोडलले फरक प्राथमिकता देखाउँछन्।

युरोप सुरक्षा र अधिकारलाई अगाडि राख्छ। अमेरिका नवप्रवर्तन र प्रतिस्पर्धाको गति जोगाउन चाहन्छ। चीन राज्यको नियन्त्रण, सामाजिक स्थिरता र रणनीतिक क्षमतालाई बढी महत्व दिन्छ।

तर एआईको समस्या यति सरल छैन कि प्रत्येक देशले आफ्नै सीमाभित्र नियम बनाएर समाधान गर्न सकोस्।

एउटा देशमा बनेको एआई प्रणाली अर्को देशका मानिसले प्रयोग गर्न सक्छ। एउटै प्रणालीले धेरै देशमा सामग्री उत्पादन गर्न, वित्तीय सेवा सञ्चालन गर्न वा साइबर गतिविधिमा सहयोग गर्न सक्छ।

त्यसैले एउटा देशको कमजोर सुरक्षा मापदण्डले अर्को देशमा जोखिम सिर्जना गर्न सक्छ। यही कारण विश्वव्यापी सहकार्यको आवश्यकता बढेको छ। तर विश्वव्यापी नियम बनाउनु आफैंमा कठिन छ।

अमेरिका र चीनबीच प्रविधिगत प्रतिस्पर्धा छ। युरोपको प्राथमिकता फरक छ। विकासशील देशहरू एआईको लाभबाट पछि पर्न चाहँदैनन्। ठूला प्रविधि कम्पनीहरू पनि आफ्नै व्यावसायिक हितको रक्षा गर्न चाहन्छन्।

यसले एआई नियमनमा एउटा नयाँ राजनीतिक प्रश्न जन्माउँछ–सुरक्षाका लागि आवश्यक न्यूनतम विश्वव्यापी मापदण्ड कति हुने, र देश तथा कम्पनीलाई आफ्नै नवप्रवर्तनका लागि कति स्वतन्त्रता दिने?

सबैभन्दा व्यावहारिक बाटो सायद एआईलाई एउटै नियमले बाँध्नु होइन। जोखिमअनुसार फरक नियम, अन्तर्राष्ट्रिय रूपमा साझा न्यूनतम सुरक्षा मापदण्ड र प्रविधि बदलिँदा नियम पनि बदल्न सक्ने व्यवस्था हुन सक्छ।

किनकि एआई स्थिर प्रविधि होइन। आजको उच्च जोखिम प्रणाली केही वर्षमा सामान्य प्रविधि बन्न सक्छ। आज कल्पना गर्न नसकिने क्षमता भोलि सामान्य प्रयोगमा आउन सक्छ।

त्यसैले पाँच वर्षका लागि लेखिएको नियम पाँच वर्षपछि अप्रासंगिक हुन सक्छ। एआई नियमनको अर्को जोखिम पनि छ–नियम आफैंले बजारमा नयाँ एकाधिकार जन्माउन सक्छ।

ठूलो कम्पनीले कानुनी विशेषज्ञ, परीक्षण प्रणाली र अनुपालनमा करोडौं खर्च गर्न सक्छ; सानो कम्पनीले सक्दैन।

अत्यधिक महँगो नियमले जोखिम घटाउनुको सट्टा प्रतिस्पर्धा घटाएर केही ठूला कम्पनीलाई अझ शक्तिशाली बनाउन सक्छ।

राम्रो नियमनको मापदण्ड धेरै नियम हुनु होइन। सही जोखिममा सही नियम हुनु हो। एआईको विकासलाई रोक्नु सम्भव नहुन सक्छ। त्यसलाई पूर्ण स्वतन्त्र छाड्नु पनि बुद्धिमानी नहुन सक्छ।

अन्ततः संसारले यस्तो व्यवस्था खोज्नुपर्नेछ जहाँ नवप्रवर्तनलाई पर्याप्त ठाउँ होस्, तर जोखिमलाई पर्याप्त सीमा।

किनकि एआईको युगमा सबैभन्दा खराब नियम त्यो हुनेछ जसले सुरक्षित प्रविधिलाई रोक्छ। र सबैभन्दा खराब नियमविहीनता त्यो हुनेछ जसले असुरक्षित प्रविधिलाई बजारमा जित्न दिन्छ।

विश्वको चुनौती अब एआईलाई नियन्त्रण गर्ने कि नगर्ने भन्ने होइन। कुन जोखिममा रोक्ने, कुन जोखिममा अघि बढ्ने र त्यो निर्णय कसले गर्ने भन्ने हो।

कस्तो होला एआईको भविष्य?

एआईको भविष्यबारे संसार अहिले दुई चरम कल्पनाबीच उभिएको छ।

एउटा भविष्यमा एआईले रोग पहिचान र उपचारको गति बढाउँछ, वैज्ञानिक अनुसन्धानलाई छोट्याउँछ, उत्पादनको लागत घटाउँछ, शिक्षालाई सस्तो र पहुँचयोग्य बनाउँछ र मानिसलाई जोखिमपूर्ण तथा दोहोरिने कामबाट मुक्त गर्छ।

अर्को भविष्यमा यही प्रविधिले ठूलो रोजगारी विस्थापन निम्त्याउँछ, झुटा सूचना फैलाउने क्षमता बढाउँछ, साइबर आक्रमणलाई सस्तो र शक्तिशाली बनाउँछ, आर्थिक तथा राजनीतिक शक्ति केही ठूला कम्पनी र राष्ट्रमा केन्द्रित गर्छ र अन्ततः मानिसले पूर्ण रूपमा नियन्त्रण गर्न नसक्ने प्रणाली जन्माउन सक्छ।

यीमध्ये कुन भविष्य वास्तविक बन्छ भन्ने अहिले कसैले निश्चित रूपमा भन्न सक्दैन। प्रविधिको विकास र त्यसको सामाजिक परिणामबीचको दूरी अझै अनुमानले भरिएको छ।

तर एउटा कुरा भने स्पष्ट भइसकेको छ–एआई अब भविष्यको कुनै टाढाको प्रविधि रहेन। यो उत्पादन, रोजगारी, लगानी, सूचना, सुरक्षा र राष्ट्रिय शक्तिको वर्तमान साधन बनिसकेको छ।

यसलाई पूर्ण रूपमा रोक्ने प्रयास व्यावहारिक देखिँदैन। एउटा देशले रोक्दा अर्को देशले अघि बढ्न सक्छ। एउटा कम्पनीले सावधानी अपनाउँदा अर्को कम्पनीले बजार जित्ने दबाबमा जोखिम लिन सक्छ।

एआईको विकासमा प्रतिस्पर्धा यति तीव्र भइसकेको छ कि यसको प्रयोगलाई पूर्ण निषेध गर्नेभन्दा त्यसलाई कसरी सुरक्षित बनाउने भन्ने प्रश्न बढी महत्वपूर्ण बन्दै गएको छ।

तर नियन्त्रणबिनाको गति पनि समाधान होइन। प्रविधिको इतिहासले एउटा सरल पाठ सिकाउँछ-नयाँ शक्ति आफैं राम्रो वा खराब हुँदैन; त्यसको परिणाम त्यसलाई कसरी प्रयोग गरिन्छ भन्नेमा निर्भर हुन्छ।

एआईले चिकित्सकलाई रोग पहिचान गर्न सहयोग गर्न सक्छ, तर गलत स्वास्थ्य सूचना पनि हजारौं मानिससम्म पुर्‍याउन सक्छ।

यसले बैंकलाई ठगी रोक्न मद्दत गर्न सक्छ, तर ठगीलाई अझ विश्वसनीय पनि बनाउन सक्छ। यसले वैज्ञानिक अनुसन्धान तीव्र बनाउन सक्छ, तर त्यही ज्ञानको दुरुपयोगको सम्भावना पनि बढाउन सक्छ।

त्यसैले संसारले खोजिरहेको समाधान एआई बन्द गर्ने होइन। प्रश्न यसको गति, सीमा र उत्तरदायित्व कसरी निर्धारण गर्ने भन्ने हो।

सुरक्षित विकास, स्वतन्त्र परीक्षण, पारदर्शिता, मानवीय निगरानी र गलत प्रयोग भए जिम्मेवारी निर्धारण गर्ने स्पष्ट व्यवस्था अब प्रविधिको अतिरिक्त व्यवस्था होइनन्; ती एआई अर्थतन्त्रका आधारभूत पूर्वाधार बन्न सक्छन्।

एआईको सबैभन्दा ठूलो अवसर मानिसलाई विस्थापित गर्नुमा छैन। मानिसले एक्लै गर्न नसक्ने काम गर्न सक्ने बनाउनुमा छ।

एउटा वैज्ञानिकले हजारौं सम्भावनाको परीक्षण छिटो गर्न पाउनु, एउटा चिकित्सकले विशाल तथ्यभण्डारबाट उपयोगी संकेत भेट्टाउन पाउनु, एउटा शिक्षकले प्रत्येक विद्यार्थीअनुसार सिकाइ सामग्री बनाउन पाउनु वा एउटा सानो उद्यमीले ठूलो कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्नु–यस्ता क्षेत्रमा एआईले मानिसको क्षमता विस्तार गर्न सक्छ।

यसको सबैभन्दा ठूलो खतरा पनि केवल रोजगारी गुम्नु होइन। खतरा त्यो क्षणमा हुनेछ, जब मानिसले आफूले निर्माण गरेको प्रणालीको निर्णयमाथि प्रश्न गर्न, त्यसलाई रोक्न वा त्यसको परिणामको जिम्मेवारी लिन नसक्ने अवस्था आउँछ।

कुनै समय मानिसले आगो नियन्त्रणमा लियो। आगोले खाना पकायो, धातु पगाल्यो, उद्योग चलायो र सभ्यताको विस्तारमा योगदान गर्‍यो। तर नियन्त्रण गुमेको आगो विनाशको कारण पनि बन्न सक्छ।

एआई आगोभन्दा धेरै जटिल शक्ति हो–यसले भौतिक वस्तु मात्र होइन, सूचना, निर्णय, पैसा, ज्ञान र व्यवहारलाई प्रभावित गर्न सक्छ।

भविष्यको निर्णायक प्रश्न एआई कति शक्तिशाली बन्छ भन्ने होइन। मानिसले त्यो शक्तिलाई कति बुद्धिमानीपूर्वक नियन्त्रण गर्छ भन्ने हो।

एआईको भविष्य अझै लेखिएको छैन। तर त्यसको पहिलो पाना अहिले नै लेखिँदैछ। त्यो पानामा अन्ततः मेसिनले के गर्न सक्छ भन्नेभन्दा महत्वपूर्ण कुरा मानिसले के गर्न दिने निर्णय गर्छ भन्ने हुनेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action