काठमाडौं। क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने विद्यमान व्यवस्था परिवर्तन गरी पाँच वर्षमा मात्र नवीकरण गर्नुपर्ने माग राखेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा उनीहरूले यस्तो माग गरेका हुन्।
व्यवसायी अमूल्य राणाले वार्षिक नवीकरणको व्यवस्थाले बैंकबाट दीर्घकालीन ऋण लिन र ठूलो लगानी गर्न कठिनाइ भएको बताए। उनले एउटा होटल परिसरमा एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाउने गरी कानुनी व्यवस्था स्पष्ट गर्नुपर्नेमा जोड दिए। साथै, उनले विदेशमा बसोबास गर्ने नेपाली तथा पिआरधारीहरूलाई क्यासिनो प्रवेश गर्न दिनुपर्ने सुझाव दिए।
अर्का व्यवसायी अमित गुप्ताले सरकारी अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। उनले पर्यटन नियमावलीमा तीनदेखि पाँच महिनाको अन्तरालमा नियमित अनुगमन गर्ने संयन्त्रको व्यवस्था गर्न माग गरे।
व्यवसायी गिर्धार टण्डनले सीमा क्षेत्रमा रहेका क्यासिनोमा भारतीय ग्राहकको सहज आवागमनका लागि नाका २४सै घण्टा खुला राख्न पहल गर्न आग्रह गरे। उनले क्यासिनो व्यवसायमा विद्युतीय बिलिङको व्यवस्था लागू नहुने कुरा आर्थिक ऐनमै स्पष्ट गर्नुपर्ने बताए।
पर्यटन व्यवसायी बलराम सापकोटाले नेपालमा अन्तर्राष्ट्रियस्तरको ठूलो क्यासिनो विकास गर्नुपर्ने धारणा राखे। उनले लाइसेन्स शुल्क कम्तीमा एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने र साना क्यासिनोलाई मर्जर गरी ठूलो बनाउने नीति ल्याउनुपर्ने सुझाव दिए। छलफलमा सहभागी व्यवसायीहरूले भारतीय पर्यटकका लागि परिचय खुल्ने सामान्य पत्रकै आधारमा क्यासिनो प्रवेशको व्यवस्था मिलाउन पनि माग गरेका छन्।
