काठमाडौं। सरकारले सार्वजनिक गरेको धितोपत्र बजार सुधार कार्ययोजनाको प्रभाव मंगलबारको शेयर बजारमा देखिएको छ। कार्ययोजना सार्वजनिक भएको भोलिपल्टै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ अंकमा पुगेको छ।
बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। नेप्सेका अनुसार आज ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर खरिद-बिक्री भएको छ। बजारमा रहेका सबै १३ वटै उपसूचक धनात्मक हुँदा समग्र बजार हरियाली देखिएको छ।
आज कारोबारमा आएका २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा १२ वटा कम्पनीको मात्र शेयर मूल्य घटेको छ। सरकारले सोमबार २१ बुँदे धितोपत्र बजार सुधार कार्ययोजना सार्वजनिक गरेको थियो। उक्त कार्ययोजनामा पुँजीगत लाभकरलाई ३.५ प्रतिशतमा झार्ने र नाफा-घाटाका आधारमा कर गणना गर्न पाउने लगायतका सुविधाहरू समावेश गरिएको छ।
