कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उनले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहीले भने, “ऐननियम संशोधन गर्नुपर्नेछ भने गरौँ, कर्मचारीलाई तालिमको आवश्यकता हो भने त्यो पनि दिऊँ तर काम समयमै सक्ने र विनियोजित रकम पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्नेतर्फ ध्यान दिऊँ।”
उनले स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने धारणा राखे। कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति सन्तोषजनक नभएको भन्दै यस पटक सुधारेर लैजानुपर्नेमा जोड दिए।
प्रदेश सरकारको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कुल रु. छ अर्ब नौ करोड ६२ लाख बजेट विनियोजन भएकामा असार मसान्तसम्म रु. तीन अर्ब ३७ करोड १६ लाख खर्च भएको थियो। जुन कुल बजेटको ५५ दशमलव ३१ प्रतिशत बराबर हो।
