काठमाडौं। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
आयोजनाको कुल लागतमध्ये बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहनेछ। वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रीला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्।
जाल्दीगाड नदीमा निर्माण हुने सो आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेका अनुसार आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ। जग्गा खरिदलगायतका अधिकांश पूर्वतयारीका कामहरू यसअघि नै सम्पन्न भइसकेका छन्।
सांग्रीला हाइड्रोपावरले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। सो आयोजना निर्धारित समयभन्दा ६ महिनाअगावै सम्पन्न भएको थियो।
त्यस्तै, सोही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
