काठमाडौँ। चालु आर्थिक वर्षको सुरुवातमै वाणिज्य बैंकहरूको नाफा बढेको छ । २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको यो नाफा गत आर्थिक वर्षको साउनको तुलनामा ४.२३ प्रतिशत बढी हो । गत वर्षको साउनमा २० वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
साउनको नाफामा नबिल बैंक अगाडि देखिएको छ । नबिलले एक महिनामै ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो । एक वर्षमा नबिलको नाफा २३.२८ प्रतिशतले बढेको हो ।
नाफाका आधारमा नबिलपछि ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् । ग्लोबल आइएमईले ८१ करोड ३६ लाख तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी दुई बैंकको नाफा क्रमशः ३.७० प्रतिशत र १५.८० प्रतिशतले बढेको छ ।
कुमारी बैंकले ५४ करोड ७१ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख र प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख रुपैयाँ नाफा कमाएका छन् । कुमारी र प्राइमको नाफा बढ्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा भने ६.१५ प्रतिशतले घटेको छ ।
लक्ष्मी सनराइज बैंकले ४९ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको साउनको तुलनामा २५.९३ प्रतिशतले बढेको हो । एभरेष्ट बैंकले ४९ करोड २२ लाख, एनएमबि बैंकले ४७ करोड ९० लाख र सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ३७ लाख रुपैयाँ मात्रै देखिएकाले यस वर्ष वृद्धिदर अस्वाभाविक रूपमा उच्च देखिएको छ ।
सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख र नेपाल बैंकले ३० करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सानिमाको नाफा १.९१ प्रतिशतले घट्दा प्रभुको ८.९५ प्रतिशतले बढेको छ । नेपाल बैंकको नाफा भने ४४.१६ प्रतिशतले घटेको छ ।
हिमालयन बैंकले २७ करोड ३० लाख, माछापुच्छ्रे बैंकले २७ करोड २८ लाख, सिटिजन्स बैंक इन्टरनेसनलले २५ करोड ९३ लाख र एनआईसी एसिया बैंकले २२ करोड १७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
हिमालयनको नाफा ३३.२४ प्रतिशत, सिटिजन्सको ४.८४ प्रतिशत र एनआईसी एसियाको ३०.५८ प्रतिशतले घटेको छ । माछापुच्छ्रेको नाफा भने २.८५ प्रतिशतले बढेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३९ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । स्ट्यान्डर्ड चार्टर्डको नाफा २४.९४ प्रतिशतले घट्दा नेपाल एसबीआईको १०.६९ प्रतिशतले बढेको छ ।
समग्रमा साउनमा २० वाणिज्य बैंकमध्ये १३ बैंकको नाफा गत वर्षको तुलनामा बढेको छ । बाँकी ७ बैंकको खुद नाफा भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
