काठमाडौं। नेपाल आयल निगमले भदौ महिनामा ४२ लाख १३ हजार ६६१ थान ग्यास सिलिन्डर बजारमा वितरण गरेको जनाएको छ।
निगमका अनुसार यस अवधिमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी खपत गरिएको हो। सामान्य अवस्थामा मासिक ३० देखि ३५ लाख सिलिन्डर खपत हुने गरे तापनि बजारको अभाव कम गर्न आपूर्ति बढाइएको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार साउन महिनामा ४० लाख ३६ हजार ३६४ र असार महिनामा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर वितरण गरिएको थियो। सामान्य अवस्थामा मासिक ४५ हजार देखि ४८ हजार मेट्रिक टन ग्यासको माग रहने गरेको छ। पछिल्लो समय बजारमा देखिएको अभावलाई सहज बनाउन निगमले ग्यासको कोटा बढाएको हो।
उपत्यकामा दैनिक ४० हजार सिलिन्डर खपत हुने गरेकोमा मुख्य राजमार्गहरू खुलेसँगै आपूर्ति व्यवस्था सहज बन्दै गएको छ। बिहीबारदेखि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएपछि ग्यास बोकेका बुलेटहरू भित्रिन थालेका छन्। यसले गर्दा बजारमा देखिएको ग्यास अभाव क्रमशः कम हुने निगमले अपेक्षा गरेको छ।
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर खरिद नगर्न अनुरोध गरेको छ। उद्योगीहरूले काठमाडौं आसपासका उद्योगबाट ग्यास रिफिलिङ गरी बजारमा पठाउन थालेका छन्। शुक्रबार मात्र काठमाडौं उपत्यकामा चार वटा ग्यास उद्योगले पाँच हजार १०२ सिलिन्डर बिक्री गरेका छन्।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्तिमा समस्या देखिएपछि गत फागुन २८ देखि चार महिनासम्म आधा तौलको सिलिन्डर वितरण गरिएको थियो। असार ३१ देखि पूर्ण तौलको सिलिन्डर बिक्री सुरु भएपछि र तीन साताअघि कृष्णभिरमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा बजारमा ग्यासको अभाव चुलिएको थियो।
