काठमाडौं। चीनको तियान्जिनमा हालै सम्पन्न २८ औँ चीन आइसक्रिम तथा फ्रोजन फुड इन्डस्ट्री एक्स्पोमा चिनियाँ आइसक्रिमको सिर्जनात्मकता र प्रविधिले विश्वभरका खरिदकर्ताको ध्यान तानेको छ।
गाजर, भन्टा र कुखुराको मासुजस्ता देखिने सिर्जनात्मक आइसक्रिमहरू प्रदर्शनीको मुख्य आकर्षण बनेका थिए।
आइआइ मिडिया रिसर्चका अनुसार चीनको आइसक्रिम बजार सन् २०२५ मा १९१.२ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१९ प्रतिशतले बढी हो। प्रदर्शनीमा सहभागी भारतका डेजर्ट निर्माता यशले चिनियाँ उत्पादनमा रहेका विभिन्न स्वाद र नवीनताले आफूलाई प्रभावित पारेको बताए।
साङ्घाई नाइसेम ब्रान्ड म्यानेजमेन्ट कम्पनी लिमिटेडका महाप्रबन्धक याङ यिउका अनुसार चिनियाँ आइसक्रिमहरू हाल २० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्। उनले विकसित देशहरूमा नयाँ स्वाद र फरक स्वरूपका आइसक्रिमको माग बढिरहेको बताए।
यस वर्षको प्रदर्शनीमा १२० भन्दा बढी देशका १,८०० भन्दा बढी खरिदकर्ता र ५६० कम्पनी सहभागी थिए, जुन आफैँमा एक कीर्तिमान हो।
प्रदर्शनीमा केवल आइसक्रिम मात्र नभई प्याकेजिङ र उत्पादन उपकरणमा पनि विदेशीहरूको आकर्षण देखिएको छ। बेलायतको फिनचर लिमिटेडका प्रबन्ध निर्देशक मार्क गजनले युरोपको तुलनामा चिनियाँ उपकरण सस्तो र गुणस्तरीय भएको बताउँदै वैकल्पिक आपूर्तिकर्ताको रूपमा यसलाई हेरिरहेको उल्लेख गरे।
दायुआन इन्डस्ट्रियल कम्पनी लिमिटेडका अध्यक्ष काओ चुआन्योङका अनुसार कम्पनीका उपकरण ८० भन्दा बढी देशमा पुगिसकेका छन् र कुल बिक्रीको ८० प्रतिशत हिस्सा विदेशी बजारबाट आउने गरेको छ।
चीनको पूर्ण औद्योगिक शृङ्खलाले मेसिनदेखि उत्पादन लाइनसम्मका समाधान उपलब्ध गराउँदा विश्वभरका ग्राहक आकर्षित भएका छन्।
चीन आफैँ पनि अन्तर्राष्ट्रिय ब्रान्डका लागि ठूलो बजार बनेको छ। म्याग्नम र वाल्सजस्ता कम्पनीहरूले चीनमा आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेका छन्।
इटालियन कम्पनी बाबी एसआरएलका क्षेत्रीय प्रबन्धक थोमस मान्सिनले चीनको आइसक्रिम बजार आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे।
