काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ को रूपमा निरन्तरता दिएको छ।
यसअघि दोस्रो संस्करणमा पनि बैंकले टिमसँग साझेदारी गरेको थियो। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन्।
लुम्बिनी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरको विकास बैंकको रूपमा रहेको शाइन रेसुंगासँगको सहकार्यले खेलाडीको हौसला बढाउन र लगानी गर्न थप सहज हुने टिम म्यानेजर आचार्यले बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरिएको उल्लेख गरे।
त्यस्तै, बैंकका चिफ ब्राण्ड अफिसर प्रभास राईले लुम्बिनी लायन्ससँगको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी २६ अक्टुबरदेखि २१ नोभेम्बरसम्म एनपीएलको तेस्रो संस्करण सञ्चालन हुँदैछ। लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको थियो।
