काठमाडौं। साझा यातायातले आफ्नो सार्वजनिक यातायात सेवालाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडसँग सहकार्य गरेको छ। यस साझेदारीअन्तर्गत साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा बैंकले पेमेन्ट पार्टनरका रूपमा काम गर्नेछ।
यस सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न र यात्रुहरूलाई सहज, सुरक्षित तथा पारदर्शी सेवा प्रदान गर्न मद्दत गर्नेछ। अब साझा बसका यात्रुहरूले बैंकको पीओएस मेसिनमार्फत कार्ड वा अन्य डिजिटल माध्यमबाट भाडा भुक्तानी गर्न सक्नेछन्।
साझा यातायातले नगदरहित यात्रालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आधुनिक कमाण्ड र कन्ट्रोल सेन्टरलगायतका प्रविधिमैत्री सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ। यस पहलले सार्वजनिक यातायात सेवाको आधुनिकीकरण र भुक्तानी प्रक्रियामा पारदर्शिता कायम गर्न महत्त्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।
बैंकले आफ्नो डिजिटल भुक्तानी पूर्वाधार प्रयोग गरी यात्रुहरूलाई थप सहज अनुभव प्रदान गर्ने जनाएको छ। यो सहकार्यले सार्वजनिक यातायात क्षेत्रमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र यात्रु सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने साझा यातायातको प्रयासलाई थप बलियो बनाउने विश्वास लिइएको छ।
