जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामअशिष यादवले तीनवटै तहका सरकारले पर्यावरणलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताएका छन्। रतौली युवा क्लबद्वारा आयोजित मधेश प्रदेश वित्तीय संवाद २०८३/८४ को समापन समारोहमा बोल्दै उहाँले सामाजिक, आर्थिक र पर्यावरणीय स्तम्भलाई समेटेर बजेट ल्याएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने धारणा राखे।
सभामुख यादवले संघीयताले आर्थिक भार बढाएको भन्ने तर्क गलत रहेको जिकिर गर्नुभयो। उहाँका अनुसार कुल बजेटको ३० प्रतिशत मात्र प्रदेश र स्थानीय तहमा जाने गरेको र ७० प्रतिशत बजेट अझै पनि संघीय सरकारसँगै केन्द्रित छ।
सोही कार्यक्रममा प्रदेशसभा सदस्य अनिताकुमारी साहले आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने प्रवृत्तिको आलोचना गरे। उनले पुँजीगत खर्च आर्थिक वर्षको सुरुवाती महिनादेखि नै हुनुपर्नेमा जोड दिए। मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य नवल किशोर यादवले वित्तीय सुशासन कायम गर्न सरकारले फजुल खर्च कटौती गर्दै टेन्डर प्रक्रियालाई तीव्रता दिएको जानकारी दिए।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह रौनियारले विगतका बजेटमा सन्तुलनको अभाव रहेको उल्लेख गर्दै सामाजिक न्यायका लागि सन्तुलित बजेट आवश्यक रहेको बताए। कार्यक्रमका सहभागीहरूले बजेटको आकार बढे पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सीमान्तकृत समुदायको जीवनस्तरमा सुधार हुन नसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए। कार्यक्रम रतौली युवा क्लबका अध्यक्ष मोहमद साकिर खानको अध्यक्षतामा सम्पन्न भएको थियो।
