काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ आइतबार सम्पन्न भएको छ। सुरक्षित आवास र व्यवस्थित बस्ती विकासको नारासहित आयोजित मेलामा करिब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रदर्शनीमा किफायती घर, अपार्टमेन्ट र घडेरीहरू प्रदर्शनमा राखिएका थिए। बैंक तथा वित्तीय संस्थाहरूले ५.४९ देखि ६ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएपछि उपभोक्ताहरू थप आकर्षित भएका थिए।
समापन समारोहमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले छरिएर रहेका असुरक्षित बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए। अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको बताए।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायसँग २४० भन्दा बढी स्वदेशी उद्योग जोडिएको उल्लेख गर्दै नीतिगत स्पष्टताको माग गरे। उनले जग्गाको हदबन्दीका कारण करिब दुई खर्ब रुपैयाँ बराबरको सम्पत्ति रोक्का रहेको जानकारी दिए। सोही क्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, लोन टु भ्यालु अनुपात ८० प्रतिशत पुर्याउनुपर्ने र हदबन्दी हटाउनुपर्ने लगायतका चार बुँदे माग अघि सारे।
प्रदर्शनीमा वास्तुशास्त्र, भूकम्पीय सुरक्षा र नीतिगत सुधारका विषयमा विभिन्न अन्तरक्रियासमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट प्रदर्शक र प्रायोजकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
