बर्दिया। बर्दियाका अपाङ्गता भएका व्यक्ति र तिनका परिवारले बेतबाँसबाट सामग्री बनाउने तालिम पाएपछि आयआर्जनको नयाँ बाटो खुलेको छ। अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले आयोजना गरेको एक महिना लामो तालिमबाट २० जना व्यक्ति लाभान्वित भएका छन्।
बढैयाताल गाउँपालिका-९ जनतानगरकी सीता चौधरीले दुई दशकदेखि दुर्घटनामा परेका श्रीमान्को हेरचाह गर्दै आएकी छिन्। हेरचाहको जिम्मेवारीले गर्दा नियमित रोजगारीमा जान नसकेकी सीताका लागि यो तालिम अवसर बनेको छ। उनले भनिन्, ‘सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ।’ त्यस्तै, आठ वर्षदेखि आमाको हेरचाहमा समय बिताइरहेका देवीराम थारुले पनि घरमै बसेर मुडा, पूजा टोकरी र ह्याङ्गर बनाउन सिकेका छन्।
आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित यस तालिमले गुलरिया, बाँसगढी, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकाका बासिन्दालाई समेटेको छ। अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटाका अनुसार जिल्लामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन्, जसमध्ये करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका छन्।
सापकोटाले भने, ‘अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्।’ केन्द्रले उत्पादित सामग्रीको बजारीकरणको जिम्मा पनि लिएको छ। सामग्रीका लागि आवश्यक कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहल भइरहेको छ। यस्ता सीपमूलक कार्यक्रमले पूर्ण अपाङ्गता भएका व्यक्तिको हेरचाहमा खटिएका परिवारको आर्थिक बोझ कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
