काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति र वितरण लाइन सुदृढीकरणका लागि काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। प्राधिकरणका अनुसार मर्मत कार्यका लागि हरेक फिडरमा बढीमा दुई दिन रातिको समयमा तीन घण्टा विद्युत् कटौती गरिनेछ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा सुधार गर्ने कार्य अघि बढाएको छ। यस क्रममा पुराना रिले हटाएर नयाँ जडान गर्ने, सबस्टेसन अटोमेसन प्रणाली जडान गर्ने र परीक्षण गर्ने काम गरिनेछ।
आयोजना प्रमुख नीतीश पौडेलका अनुसार विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउन यो कार्य आवश्यक भएको हो। उहाँले भन्नुभयो, “विद्युत् प्रणालीलाई थप सुरक्षित, भरपर्दो तथा आधुनिक बनाउन पुराना उपकरण र रिले विस्थापन गरी नयाँ प्रणाली जडान गर्दै छौँ। निर्धारित समयभन्दा छिटो काम सकेमा तत्कालै विद्युत् आपूर्ति गर्ने छौँ।”
विद्युत् आपूर्ति राति ११ बजेदेखि बिहान २ बजेसम्म वा बिहान २ बजेदेखि ५ बजेसम्म अवरुद्ध हुनेछ। मर्मत कार्य असोज ४ गतेबाट सुरु भई विभिन्न मितिमा सञ्चालन हुनेछ। रत्नपार्क वितरण केन्द्र अन्तर्गत सुन्धारा, थापाथली, मिन्ट, कालीमाटी, भीमसेनस्थान, क्षेत्रपाटी र त्रिपुरेश्वर फिडरमा विभिन्न मितिमा विद्युत् कटौती हुनेछ।
त्यसैगरी, पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, भैँसेपाटी र रिङरोड फिडर तथा कुलेश्वर वितरण केन्द्र अन्तर्गत ताहाचल, चमती, कुलेश्वर र कीर्तिपुर फिडरमा पनि मर्मतका लागि विद्युत् आपूर्ति बन्द रहनेछ। प्राधिकरणले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ।
