काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आगामी चाडपर्वका समयमा खाना पकाउने ग्यासको अभाव नहुने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले उपभोक्ताहरूलाई ग्यासको उपलब्धताका विषयमा कुनै दुविधा नराख्न आग्रह गरेका हुन्।
मन्त्री साहले सरकारले चाडपर्व सुरु हुनुअघि नै ग्यास आपूर्तिसँग सम्बन्धित समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। नागरिकको भान्सासँग जोडिएको यो विषयलाई सरकारले पूर्ण संवेदनशीलता, प्राविधिक दक्षता, अनुशासन र सार्वजनिक जवाफदेहिताका साथ सम्बोधन गर्ने उनले बताए।
त्यस्तै, मन्त्रालयको कार्यशैलीमा सुधार गर्ने विषयमा पनि मन्त्री साहले जोड दिएका छन्। उनले भने, ‘सुधारको शुरूआत आफ्नै मन्त्रालयबाट गर्ने हाम्रो प्रतिवद्धता छ।’ मन्त्रालयलाई थप सुरक्षित, व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने दिशामा आफू लागिपरेको उनले जानकारी दिएका छन्।
