काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माण कार्य एक साताभित्र ठेक्का लगाएर अघि बढाइने बताएका छन्।
आफ्नो गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवले स्थानीयवासीको गुनासो सुनेपछि राजविराज-छिन्नमस्ता, राजविराज-रूपनी र राजविराज-हनुमाननगर-भारदह सडकको निर्माण प्रक्रिया तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएका हुन्।
यी तीन वटै सडक निर्माणका लागि यसअघि ७३ करोड रुपैयाँमा सम्झौता भएको थियो। तर, पाँच वर्षको अवधिमा ३० करोड रुपैयाँ बराबरको मात्र काम भएपछि अघिल्ला ठेक्काहरू रद्द गरिएको थियो। मन्त्री यादवका अनुसार अब नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइने छ। नयाँ सम्झौतामा १८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी व्यवस्था गरिने उनले जानकारी दिएका छन्।
चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन र धुलो नियन्त्रण गर्न सडकमा प्राइम छर्किने व्यवस्था मिलाइने मन्त्री यादवले बताए। निर्माण कार्य अलपत्र परेपछि नयाँ ठेक्काको तयारीसँगै स्थानीयवासीमा आशा पलाएको छ। स्थानीय सुशीला यादवले निर्माण कार्य अघि बढ्ने खबरले स्थानीयमा उत्साह थपिएको बताइन्।
