काठमाडौँ। सेयर कारोबारमा देखिएको प्राविधिक समस्याका विषयमा नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। बोर्डले एक साताभित्र उक्त समस्याको अध्ययन गरी आवश्यक सुधारसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको हो।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार ७२ वटा धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार अवरुद्ध भएको थियो। डेटा हबको प्रणालीमा आइतबार बिहानदेखि समस्या आएको र समाधान हुन नसकेपछि कारोबार नै रोक्नुपरेको नेप्सेले जनाएको छ।
प्राविधिक समस्याबारे जानकारी प्राप्त भएलगत्तै बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको थियो। आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित असोज १२ गतेभित्र प्रतिवेदन पेस गर्न बोर्डले निर्देशन दिएको छ।
