काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सोही स्थानमा नयाँ भवन निर्माण गरी आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत स्थानान्तरण गरेको छ। अब उक्त नयाँ भवनबाट नै सम्पूर्ण बैंकिङ सेवाहरू प्रवाह हुनेछन्। यस नयाँ शाखा थपिएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको कुल शाखा संख्या १५ पुगेको छ।
उक्त शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिनाका साथै विभिन्न उद्योग व्यवसायी, बैंकका कर्मचारी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। क्याम्पस चोकमा बैंकको आफ्नै भवनबाट सेवा सुरु भएसँगै यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने र समग्र आर्थिक विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
