काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो दिन पनि बढेको छ। साताको पहिलो कारोबार दिन मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता शेयर ७० हजार ६९१ पटक किनबेच भएका छन्।
मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। १५ प्रतिशत बोनस शेयर घोषणा गरेपछि कम्पनीको शेयर मूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँ पुगेको हो। त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य करिब ८ प्रतिशत र मैलुङ्ग खोला जलविद्युतको साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ। यता, स्नो रिभर्सका शेयरधनीले भने सर्वाधिक ८.२३ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड र घलेम्दी हाइड्रोको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारमा आएका १३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ। ‘अन्य’ उपसमूह सर्वाधिक १.३६ प्रतिशतले बढेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।
