मुस्ताङ। केरुङ नाका बन्द भएपछि उत्तरी कोरला नाकाबाट हुने आयातमा वृद्धि हुँदा मुस्ताङ भन्सार कार्यालयले २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुख्य नाका बन्द भएपछि कन्टेनर र विद्युतीय सवारीसाधन (इभी) को आवतजावत कोरला नाकातर्फ मोडिएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेयता कोरला नाका हुँदै ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी साधन भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने आयातका लागि कोरला नाका हाल एकमात्र वैकल्पिक मार्ग बनेको छ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी मुस्ताङ भन्सारले कुल तीन अर्ब सात करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ १० गतेअघि साउन र भदौको सुरुवाती दिनमा ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। साउन महिनामा २६ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएकोमा भदौ महिनामा बढेर दुई अर्ब ८१ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
भदौ महिनामा मात्रै एक हजार २५३ विद्युतीय सवारी साधन आयात हुँदा एक अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ। गत आर्थिक वर्षको १२ महिनामा मुस्ताङ भन्सारले कुल छ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो, जसमा तीन हजार २२३ विद्युतीय सवारी साधन भित्रिएका थिए।
