काठमाडौं। बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्मले बढेको छ। नयाँ मूल्य निर्धारण भएसँगै उपभोक्ताका लागि ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा दुई गोटाको ४५ रुपैयाँ पर्ने भएको छ।
संघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सबैभन्दा ठूलो आकारको (एक्सएल) अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको सचिव पोखरेलले जानकारी दिए।
संघका अनुसार हाल एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ६१५ रुपैयाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ निर्धारण गरिएको छ।
