काठमाडौं। सरकारले उपभोक्तालाई लक्षित गर्दै चाडपर्वमा मात्र सञ्चालन हुँदै आएका सहुलियत पसलहरू अब वर्षैभरि सञ्चालन गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका ४४ जिल्लामा १९३ स्थानबाट र साल्ट ट्रेडिङ कर्पोरेसनले ४० स्थानबाट सहुलियत दरमा दैनिक उपभोग्य वस्तुहरू बिक्री गरिरहेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार यस कार्यक्रमका लागि सरकारले ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार भदौ २८ गतेदेखि नै यी पसलहरू सञ्चालनमा आइसकेका छन्। कम्पनीले आफ्नै ‘नेपाल फुड’ ब्रान्डका चामल, दाल र खानेतेललगायतका वस्तुहरूमा प्रतिकिलो वा प्रतिलिटर ५ रुपैयाँ छुट दिने व्यवस्था मिलाएको छ। यसका साथै स्थानीय कृषकका रैथाने बालीलाई पनि छुटको दायरामा राखिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाभित्र १३ र बाहिर २५ गरी ३८ बिक्री केन्द्र तथा ३ घुम्ती पसलमार्फत सेवा दिइरहेको छ। कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र पिठोमा ७ रुपैयाँसम्म छुट उपलब्ध छ।
सरकारी स्वामित्वका यी कम्पनीहरूले बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउन यो कार्यक्रम सञ्चालन गरेको जनाएका छन्। दुर्गमका २६ जिल्ला र सुगमका १८ जिल्ला गरी देशभरका ४४ जिल्लामा यस्तो सुविधा विस्तार गरिएको हो।
