काठमाडौं। अध्यागमन विभागले नेपालमा व्यावसायिक भिसामा कार्यरत ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ। भिसाको उद्देश्य र शर्तविपरीत कार्य गरेको पाइएपछि विभागले उनीहरूलाई जरिवानासहित डिपोर्ट गर्ने प्रक्रिया अगाडि बढाएको छ।
विभागका निर्देशक टिकाराम ढकालका अनुसार ती नागरिकहरू सिन्धुलीको मरिण गाउँपालिका-४ साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत थिए। उक्त परियोजना छेन्दु टियान फुट लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन रहेको छ। अनुसन्धानका क्रममा ती चिनियाँ नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर भिसाको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी वा श्रम कार्यमा संलग्न रहेको पाइएको हो।
अध्यागमन ऐन, २०४९ अनुसार भिसाको शर्त उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ। अध्यागमन नियमावली, २०५१ ले व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, सोही कार्यमा मात्र संलग्न हुनुपर्ने व्यवस्था गरेको छ। यस भिसालाई श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन।
विभागले विदेशी नागरिकलाई भिसाको शर्तबमोजिम मात्र क्रियाकलाप गर्न सचेत गराएको छ। साथै, सम्बन्धित उद्योग वा रोजगारदातालाई पनि उचित भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नराख्न निर्देशन दिएको छ। कानुनविपरीतका कार्यमा संलग्न हुने जोसुकैलाई पनि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
