काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मलको पर्याप्त आपूर्ति र सहज वितरण सुनिश्चित गर्न कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आग्रह गरेकी छन्। बुधबार भएको भेटवार्तामा मन्त्री चौधरीले आगामी दिनमा रासायनिक मलको अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाउनुपर्ने विषयमा जोड दिएकी हुन्।
छलफलका क्रममा किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक बजेट र स्रोत व्यवस्थापनको विषयमा विशेष छलफल भएको थियो। मन्त्री चौधरीले मलको आपूर्ति सहज बनाउन मन्त्रालयका तर्फबाट आवश्यक तयारी भइरहेको जानकारी गराउँदै बजेटको सुनिश्चितताका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी हुन्।
जवाफमा अर्थमन्त्री वाग्लेले रासायनिक मलको आपूर्ति र स्रोत व्यवस्थापनसम्बन्धी विषयमा सरकार गम्भीर रहेको र आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, भेटवार्ताका क्रममा मन्त्री चौधरीले विश्व वन्यजन्तु कोष (WWF) ले रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि उपलब्ध गराएको १ करोड ५० लाख रुपैयाँको चेक कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी छन्।
