काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार साउन र भदौ महिनामा भएको यो व्यापार गत वर्षको सोही अवधिको तुलनामा ३५.६४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँको व्यापार भएको थियो।
समीक्षा अवधिमा नेपालको व्यापार घाटा पनि बढेको छ। दुई महिनामा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँको व्यापार घाटा देखिएको छ, जुन गत वर्षको सोही अवधिमा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ थियो।
विभागको तथ्यांकअनुसार साउन र भदौमा ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३१.५८ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
त्यसैगरी, निर्याततर्फ पनि सुधार देखिएको छ। चालू आर्थिक वर्षको दुई महिनामा ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो अघिल्लो वर्षको ४७ अर्ब ३१ करोड रुपैयाँको तुलनामा ६१.८६ प्रतिशतले बढी हो।
