काठमाडौं। नागढुंगा: मुग्लिङ सडक योजनाले पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक खण्डमा यात्रा गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उक्त सडक खण्डमा निरन्तर वर्षा भइरहेकाले यात्रा जोखिमपूर्ण हुनसक्ने भन्दै सडक विभागले यस्तो सूचना जारी गरेको हो।
जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि १२ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। यसैलाई मध्यनजर गर्दै सडक योजनाले खोला तथा नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित रहन अपिल गरेको छ।
वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने जोखिम उच्च छ। यस अवस्थालाई ध्यानमा राख्दै योजनाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाएको छ। यदि यात्रा गर्नै पर्ने अवस्था आएमा मौसम र सडकको पछिल्लो अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र निस्कन अनुरोध गरिएको छ।
प्रतिकूल मौसम र सडकको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी चालकहरूलाई रात्रिकालीन यात्रा नगर्न विशेष आग्रह गरिएको छ।
