काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भोटेकोसी-त्रिशूली करिडोरमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनले सो जानकारी दिएको हो।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरे। प्याब्सनले भदौ ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूबाट राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।
अध्यक्ष अधिकारीका अनुसार संकलित रकममध्ये १२ करोड रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत र ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। यसका अतिरिक्त, प्याब्सनका सदस्य विद्यालयहरूले थप ३ करोड ५० लाख रुपैयाँ सोझै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्।
बाढीका कारण पूर्ण क्षति भएका ३ र आंशिक क्षति भएका २ विद्यालयको पुनःस्थापनाका लागि २ करोड रुपैयाँ छुट्याइएको अध्यक्ष अधिकारीले जानकारी दिए। उनले प्रभावित क्षेत्रका बालबालिकाको शिक्षालाई निरन्तरता दिन प्याब्सन प्रतिबद्ध रहेको बताए।
