काठमाडौं। जापानको टोकियोमा बिहीबारदेखि प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ। चार दिनसम्म चल्ने सो एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा होटलहरूले सहभागिता जनाएका छन्।
जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स र जापान नेसनल टुरिजम अर्गनाइजेसनको संयुक्त आयोजनामा भइरहेको यस १२औँ संस्करणको उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन्।
यस वर्षको एक्सपोमा नेपालसहित विश्वका ७४ देशका १ हजार ४२० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटकहरूले एक्सपोको अवलोकन गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार नेपाली व्यवसायीहरूले जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा र अन्य सेवाहरूबारे छलफल गरिरहेका छन्। साथै, भोटेकोशी बाढीपछिको अवस्था, पर्यटकीय गन्तव्यहरूको सुरक्षा र पदयात्रा मार्गहरूको वर्तमान अवस्थाबारे जानकारी दिँदै जापानी बजारमा नेपालको पर्यटन क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्ने प्रयास भइरहेको छ।
बोर्डका अर्का वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीचको सम्बन्धलाई थप सुदृढ गर्न यो एक्सपो महत्वपूर्ण मञ्च भएको बताए। हालैका प्राकृतिक विपद्पछि पनि नेपालको पर्यटन क्षेत्र सञ्चालनमा रहेको र पर्यटकहरूलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गर्नु यस सहभागिताको मुख्य उद्देश्य रहेको छ।
एक्सपोको पहिलो दुई दिन व्यावसायिक सहकार्यका लागि बीटुबी बैठकहरू आयोजना भइरहेका छन् भने बाँकी दुई दिन सर्वसाधारणलाई लक्षित बीटुसी कार्यक्रमहरू सञ्चालन हुनेछन्। नेपालका तर्फबाट गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन्।
