काठमाडौं। विश्वभर जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । विश्व रोबोटिक्स २०२६ प्रतिवेदनका अनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो ।
फ्र्याङ्कफर्टस्थित अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घका अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । चीनको १५औँ पञ्चवर्षीय योजनाले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।
चीनमा औद्योगिक रोबोटको माग विशेषगरी विद्युतीय उपकरण, मोटर वाहन, धातु र मेसिनरी उद्योगबाट उच्च रहेको छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय र धातु तथा मेसिनरी उद्योगमा ७८ हजार सात सय रोबोट जडान भएका थिए ।
घरेलु बजारमा चिनियाँ रोबोट निर्माता कम्पनीको पकड पनि बलियो बन्दै गएको छ । गत वर्ष चिनियाँ कम्पनीबाट आपूर्ति भएका रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो, जुन कुल जडानको ५५ प्रतिशत हो ।
अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त भइसकेको छैन । सन् २०२९ सम्म बजारमा वार्षिक पाँचदेखि १० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावका कारण उद्योगमा स्वचालनको माग बढेको छ । रोबोटको प्रयोगले उत्पादन प्रक्रियालाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग पुग्ने महासङ्घले जनाएको छ ।
