मुक्तिनाथ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनमा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आइतबारसम्म विदेशी पर्यटकका लागि प्रवेशाज्ञा रोक्ने निर्णय गरेको छ।
एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार पदयात्रामा जाने पर्यटकलाई मौसमका कारण हुनसक्ने हिमपात, भूक्षय, बाढी तथा पहिरोको जोखिमबाट बचाउन यो निर्णय लिइएको हो। कार्यालयले हाल प्रवेशाज्ञा लिन आउने र पदमार्गमा रहेका पर्यटकलाई समेत सतर्क रहन आग्रह गरेको छ।
एक्यापले सार्क राष्ट्रका पर्यटकबाट एक हजार रुपियाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपियाँ प्रवेश शुल्क लिने गर्दछ। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको यस क्षेत्रमा मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र मनाङका १६ स्थानीय तहका ८९ वडा पर्दछन्।
बाढीपहिरो र हिमपातको जोखिमलाई मध्यनजर गर्दै सरिबुङ पास, थोराङ्ला पास, अन्नपूर्ण आधार शिविर, तिलिचो ताल र घोडेपानीलगायतका पदमार्गमा रहेका पर्यटकको सुरक्षामा विशेष ध्यान दिइएको छ। चेकपोस्टहरूबाट स्वदेशी पर्यटकलाई समेत मौसम र पदमार्गको अवस्थाबारे जानकारी गराउने गरिएको छ। जिल्ला सुरक्षा समिति मुस्ताङले यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हालसम्म पर्यटकीय क्षेत्रमा रहेका पर्यटकको अवस्था सामान्य छ।
